सन्दीपको टीम मेलबर्नले हरायो सिड्नीलाई

काठमाडौं। सन्दीप लामिछाने एक विकेट लिएको दिन मेलबर्न स्टार्सले आज बिग बास लिगमा सिड्नी सिक्सर्सलाई ४४ रनले पराजित गरेको छ।

ओपनर मार्कुस स्टोइनिसले आक्रामक ब्याटिङ गर्दै अविजित १४७ रन बनाएपछि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्नले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २१९ रन बनाएको थियो।

२२० रनको लक्ष्य पछ्याएको सिड्नी सात विकेट गुमाएर १७५ रन मात्र जोड्न सक्यो।

जितसँगै मेलबर्न स्टार्सले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ। मेलबर्नले ९ खेलबाट १६ अंक जोडेको छ। सिड्नी सिक्सर्स १२ अंकका साथ दोस्रो स्थानमा छ।

स्टोइनिसले अविजित १४७ रन बनाउने क्रममा ७९ बलमा १३ चौका र आठ छक्का प्रहार गरे। उनले हिल्टन कार्टराइटसँग पहिलो विकेटका लागि २०७ रनको साझेदारी गरे। कार्टराइटले ५९ रन बनाए। कप्तान ग्लेन म्याक्सवेल पाँच रनमा अविजित रहे।

लेग स्पिनर सन्दीपले चार ओभरमा ३५ रन दिएर एक विकेट लिए। यससँगै आठ खेलमा सन्दीपको विकेट संख्या ९ पुगेको छ।

सन्दीपबाहेक क्लिन्ट हिन्चलाइफले तीन विकेट तथा लान्स मोरिस ह्यारिस राउफ र ड्नियल ओरलले समान एक÷एक विकेट लिएपछि सिड्नीका कुनै पनि ब्याट्सम्यानले खेल्न सकेनन्।

सिड्नीका बेन ड्वारसुइसले सबभन्दा धेरै अविजित ४२ रन बनाए। मोइसिस हेनरिकले ४१, जोर्डन सिल्कले ३२ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्