सीमामा रोकिएन लुटपाट
कैलाली। दशैं नजिकिएसँगै कैलाली, कञ्चनपुरका सीमा नाकामा घर फर्कनेहरूको चहलपहल बढेको छ।

विगतका वर्षहरूजस्तै यस वर्ष पनि सीमा नाकामा हुने लुटपाट र ठगीका घटनाहरूमा कमी आउन सकेको छैन।

घरखर्च चलाउनका लागि नेपालीहरू भारतका विभिन्न शहरहरूमा ज्यालामजदुरी गर्न बाध्य छन्।

चाडपर्वमा घर फर्कने यात्रीलाई लक्षित गरी सिमानामा नेपाल र भारतीय सीमा सुरक्षा बलको संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ। तर, पनि त्यो प्रभावकारी भने हुन सकेको छैन।

७ असोजमा भारतको चेन्नइबाट काम गरेर घर फर्किने क्रममा कैलालीका दुईजना भारतमा लुटिए। लुटिनेमा गोदावरी नगरपालिका–६ का १९ वर्षीय गणेश दमाई र सोही नगरपालिका–४, उत्तर वनखेतका ३४ वर्षीय गोपाल बोहरा छन् । लुटेरा व्यक्तिले दुवैको मोबाइल र १० हजार भारतीय रुपैयाँ लुटेका थिए।

यस्तै फुर्काेट गाउँपालिका–२, कालीकोटका कुल दर्जी कञ्चनपुरको महेन्द्रनगर बजारमा ९ असोजमा लुटिएका छन् । उनलाई अपरिचित नेपालीले नै चिसो पेयपदार्थमा नशालु पदार्थ हालेर खुवाई उनीसँग रहेको भारतीय ४० हजार रकम लुटेका थिए।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमा नाकामा संयुक्त नागरिक सहायता कक्षको स्थापना गरिएको बताए। दुवै देशका सुरक्षाकर्मीहरूलाई राखेर कुनै पनि नेपाली अथवा भारतीयले अनाहकमा दुःख अपाओस् भन्नका लागि खटाइएको उनको भनाइ छ। उनले कोही नेपाली लुटिएको खबर सहायता कक्षमा गरेमा तुरुन्तै लुटेरा खोज्न प्रहरी परिचालन गरिने उनले बताए। उनले आफुहरूले समेत बेलाबेलामा सीमा नाकाको अनुगमन गर्ने गरेको जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्