माघीसँगै बड्घर छान्ने तयारीमा थारू समुदाय

सुर्खेत। थारू जातिको मुख्य चाड माघी र दशैं हो। माघी उनीहरूको नयाँ वर्ष पनि हो। विशेष महत्त्व दिएर मनाइने माघी र उक्त दिनमा पर्ने नयाँ वर्षले नयाँ काम शुरुआत र नयाँ नेतृत्वको निर्क्याेल गर्दछ।

२९ पुस थारू जातिहरू रातभरि जाग्राम बस्छन्। त्यो दिन ठूलादेखि केटाकेटी सबैले आलु चोर्छन्। चोरेको आलु पोलेर खाने चलन छ। उक्त दिन आलु चोर्दा कसैले गाली गर्न पाउँदैन। आलु चोर्नु र पोलेर खान पाउनुलाई विशेष मज्जा ठान्ने चलन छ। जाग्रामको रात उनीहरू सबैले नाचगान गर्दछन्।

वीरेन्द्रनगर नगरपालिका–९, पातालगङ्गा सुर्खेतका थारू मुखिया ६७ वर्षीय धनीराम थारू भन्छन्, “हामी २९ पुस रातभरि जाग्राम बस्छौँ। रातभरि जाग्राम रही एकाबिहानै नुहाएर नयाँ वर्ष १ माघलाई स्वागत गर्छौं। नयाँ पोसाक लगाउँछौँ। गणेश देवताको पूजा गर्छौं। दशैंमा भने आफ्नै कुलदेवताको पूजाआजा गरिन्छ।”

उनका अनुसार उक्त दिन थारूहरूले बंगुर काट्छन्। उनीहरूले गणेशलाई जगन्नाथ देवताका रूपमा पुज्छन्। देवतालाई मिन्नीडेना (जाँडको जल) छर्कछन्। पूजापश्चात् सबै जम्मा भएर मुख्य गरी ढिकुरी, बङ्गुरको मासु, रक्सी, अचार र तरुल खाने प्रचलन छ।

२ माघमा भने थारू जातिको बडघर (नेतृत्व) छान्ने दिन भएको थारू अगुवा धनीरामले बताए। यसलाई थारु भाषामा महटाँवा (मुखिया) छान्ने दिन पनि भनिन्छ। थारू जातिमा प्रत्येक नयाँ वर्षसँगै नयाँ महटाँवा चुन्ने चलन छ। मुखिया (महटाँवा) समुदायको अध्यक्षका रूपमा पनि ठानिन्छ। उसले थारू समुदायलाई वर्षभरि हुने सामाजिक, सांस्कृतिक र आर्थिक नेतृत्व गर्दछ।

जन्म, मृत्यु, विवाह, व्रतबन्धलगायत विभिन्न गतिविधिमा उसको निर्णय लिएर समुदाय चल्छ। सोही दिन हली बस्ने वा छाड्ने भन्ने कुराको निर्क्योल पनि गरिन्छ। विगतमा साहु महाजनहरू कहाँ कमाराकमारी, कम्लहरी बस्ने प्रचलन पनि थियो। पछिल्लो समयमा यो चलन हट्दै गएको छ।

बर्सेनि २ माघमा महटाँवा छान्ने प्रचलन भए पनि वीरेन्द्र नगरपालिका–९, सुर्खेत पातालगङ्गामा धनीराम थारू विगत २५ वर्षदेखि मुखियामा अनुमोदित हुँदै आएका छन्। थारूको सामाजिक, सांस्कृतिक तथा अन्य व्यावहारिक पक्ष कुशल नेतृत्व दिएका कारण वर्षपिच्छे सबैले उनलाई नै महटाँवा दिने गरेको स्थानीय ४८ वर्षीय रामप्यारी चौधरीले बताइन्।

पातालगङ्गामा हाल थारू जातिको ८० घरधुरी संख्या छ। त्यसको नेतृत्व धनीरामले नै गर्दै आएका छन्। आफूलाई दाङ जिल्लाबाट आएको डगौरा थारूको परिचय सुर्खेतका थारूहरूले दिँदै आएका छन्।

थारू बस्तीमा घरवास (होमस्टे)

वीरेन्द्रनगर नगरपालिकामा ९, पातालगङ्गामा पाँचवटा थारू घरवास (होमस्टे) पनि छन्। होमस्टे सञ्चालन गरेको एक वर्ष भएको स्थानीय धनबहादुर चौधरीले जानकारी दिए।

थारूहरूको सामाजिक, धार्मिक, सांस्कृतिक पक्षको पहिचान गराउनाका साथै मौलिक परिकार चखाएर गाउँमै आयआर्जन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक भागिराम चौधरीले बताए।

प्रचारप्रसार नभएकाले अहिले स्वदेशी पाहुनाहरू मात्र होमस्टेमा आउने गरेको उनको भनाइ थियो। थारू अगुवा धनीराम थारूले अहिलेसम्म आएका पाहुनालाई दिनुपर्ने शुल्क निर्धारण नगरेको बताए।

“अहिलेसम्म आएका पाहुनालाई थारू परिकार खुवाएर हामीले उनीहरूको खुशीअनुसार शुल्क लिएका छौँ”, उनले भने, “अब हामी होमस्टेलाई व्यवस्थितरूपले सञ्चालन गर्छौं ।” उनका अनुसार त्यहाँ आउने पर्यटकहरुले थारू संस्कृतिका खाद्य परिकार, पोसाक, भाँडावर्तन, पेशा र इतिहासबारे जानकारी लिन पाउनेछन्। रासस

प्रतिक्रिया दिनुहोस्