फ्रेण्ड्स क्लबकाे पहिलाे जित

काठमाडौं। ब्राजिलियन फरवार्ड वानगर डी केमोले शुरूमै गरेको गोलमा फ्रेण्ड्स क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।

फ्रेण्ड्सको जितमा डी केमोले दोस्रो मिनेटमा गरेको गोल पर्याप्त बन्यो। उनले विश्व अधिकारीको फ्रिकिकलाई हेडमार्फत् पोष्टको दिशा दिएका थिए। उत्तम राईलाई थ्री स्टारका मिडफिल्डर आइओलादिरान इरिनोसोले फाउल गरेपछि फ्रेण्ड्सले फ्रिकिकको अवसर पाएको थियो।

जितसँगै फ्रेण्ड्स क्लब ११औं स्थानमा उक्लिएको छ। जितसँगै फ्रेण्ड्सले रेलिगेसनको सम्भावना टार्ने संकेत दिएको छ। थ्री स्टारको भने यो दोस्रो हार हो। थ्री स्टार यसअघि त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो।

यो हारसँगै थ्री स्टारको उपाधि होड भने कमजोर बनेको छ। थ्री स्टार १० अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको मछिन्द्र क्लबभन्दा तीन अंकले पछि हो। एक खेल कम खेलेको त्रिभुवन आर्मी १२ अंकका साथ दोस्रो स्थानमा छ।

३३औं मिनेटमा डी केमोको अग्रता दोब्बर बनाउने मौका गुमाए। उत्तम राईले गरेको क्रसमा डी केमोले पेनाल्टी क्षेत्रबाट गरेको हेड फ्रेममा पर्न सकेन।

पहिलो हाफमा रेफ्री कबिन ब्यान्जनकारले फ्रेण्ड्सका प्रशिक्षक मार्कुस डानटससहित तीन अफिसियललाई पहेँलो कार्ड देखाएका थिए। प्लेयर बक्समा बसेर धेरै कराउनुका साथै रेफ्रीलाई गाली गरेकाे भन्दै रेफ्री ब्यान्जनकारले पहेँलाे कार्ड देखाएका हुन्।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले ४–४–२ को फर्मेसन परिवर्तन गर्दै दोस्रो हाफ ४–३–३ मा खेलाएका थिए। प्रशिक्षक केसीले दोस्रो हाफको शुरूमै आइओलादिरान इरिनोसोलाई निकालेर सुशान्त श्रेष्ठलाई मैदान छिराएका थिए। तर, केसीको नयाँ रणनीतिले पनि टोलीको हार टार्न सकेन।

प्रतिक्रिया दिनुहोस्