ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया अवरुद्ध पार्न सरकारी तहबाटै ‘चलखेल’ भएको भेटिएको छ।

गैरकानूनी रूपमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भनी छानबिन चलिरहेका बेला डिल्लीबजार मालपाते कार्यालयबाट मुद्दा कमजोर बनाउने खेल भएको हो।

डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्दप्रसाद अधिकारीले ‘ललिता निवासको जग्गा व्यक्तिकै भएको’ भनी उच्च अदालत पाटनमा लिखित जवाफ दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ।

सरकारले नै जग्गा सरकारीकरण गर्न प्रक्रिया शुरू गरेका बेला त्यसको कार्यान्वयन गर्ने निकायका प्रमुखले कैरकानूनी रूपमा जग्गा दर्ता प्रक्रियालाई सघाउ हुने गरी लिखित जवाफ पेस गरेका हुन्।

जिल्ला अदालतबाट व्यक्तिकै पक्ष्मा फैसला भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन परेको थियो।

पुनरावेदनको लिखित जवाफ पठाउने क्रममा प्रमुख मालपोत अधिकृत अधिकारीले ‘अनावश्यक दुःख दिन मुद्दा दायर भएको’ भनी जवाफ लेखेका छन्।

‘मालपोत कार्यालयलाई विपक्षीय बनाई दायर गरेको पुनरावेदन जिकिर अनावश्यक रूपमा दुःख दिने नियतबाट प्रेरित भई दायर भएको देखिन्छ’, लिखित जवाफमा भनिएको छ, ‘मालपोत कार्यालयबाट भएका निर्णयहरू तत्कालीन प्रचलित कानून तथा नियमको परिधिभित्र रहेर गरिएकाले गैरकानूनी तवरबाट भएको भन्ने जिकिर नै गलत छ।’

उनले मुद्दा खारेजीको मागसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्