हिमालयनसँग बराबरी खेलेपछि मनाङ्ले शीर्ष स्थानमा उक्लने माैका गुमायाे

काठमाडौं। दुवै टोलीले पाएको गोलका आधा दर्जनभन्दा राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा साविक विजेता मनाङ् मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबले आज गोलरहित बराबरी खेलेका छन्।

बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमायो। ६ खेलबाट १२ अंक जोडेको मनाङ तेस्रो स्थानमा कायमै छ।

आजै भएकाे पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको मछिन्द्र क्लब शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब समान १२ अंकका साथ दोस्रो स्थानमा छ।

बराबरीसँगै हिमालयन शेर्पा पनि एक स्थान माथि उक्लिएको छ। चार अंक जोडेको हिमालयन शेर्पा ११औं स्थानमा उक्लियो। हिमालयन शेर्पाले समान चार अंक रहेको सशस्त्र प्रहरी बल (एपीएफ)लाई गोलअन्तरमा पछि पारेको हो। तथापि एपीएफले एक खेल कम खेलेको छ।

७२औं मिनेटमा रक्षक सुरज विश्वकर्माले रातो कार्ड पाएपछि मनाङले बाँकी समय १० खेलाडीमा सीमित भएको थियो। स्टेफन समिर डीउबेनीलाई फाउल गरेपछि उनले राताे कार्ड पाएका हुन्।

मनाङका जीवन गुरुङ, विमला राना, फेमी जोशुवा, भिडाल लुइस चिसानोले गोलका राम्रा अवसर खेर फाले भने हिमालयन शेर्पाका विनोद गुरु, सुरज हमाल, स्टेफन समिर डीउबेनी ‘वान भर्सेस वान’मा गोल गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्