मनमाेहन मेमाेरियल कपः सुदूरपश्चिमद्वारा मलेसिया-११ आठ विकेटले पराजित

काठमाडौं। शेर मल्ल र विनोद लामाले एक आपसमा ९ विकेट बाँडेपछि सुदूरपश्चिम प्रदेशले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा मलेसियाबाट आएको क्रिकेट टोलीलाई आठ विकेटले पराजित गरेको छ।

आयोजकले मलेसियाको राष्ट्रिय टीम आउने भने पनि मलेसिया सेलेक्सन-११ को नाममा खेलेको मलेसियन टोलीले २२ ओभरमा ४९ रन जोड्दा सबै विकेट गुमायो। ५० रनको लक्ष्य सुदूरपश्चिममले ७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

शेर मल्लले १० ओभरमा तीन मेडनसहित ११ रन दिएर पाँच विकेट लिए भने बिनोदले ९ ओभरमा तीन मेडन राख्दै २१ रन दिएर चार विकेट लिए।

मलेसिया–११ ले २६ रन जोड्दा आठ विकेट गुमाइसकेको थियो। मलेसियाका वीरन्दीप सिंहले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसिया–११ का चार खेलाडीले रनको खाता खोल्न सकेनन्।

५० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका खडक बोहरा र लोकेश बम समान १५ रनमा अविजित रहे। गजेन्द्र बोहरा ११ तथा अरुण ऐरी ६ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्