एन्फाले आफ्ना खेलाडीलाई गरेको कारबाहीप्रति मछिन्द्रकाे असन्तुष्टि

काठमाडौं। मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवालले अखिल नेपाल फुटबल संघ (एन्फ)ले खेलाडीलाई गरेको कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मनाङ् मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेलमा खेलाडीबीच मैदान भित्रै हात हालाहाल भएको घटनामा एन्फाले तीन दिनपछि दुई क्लबका ६ खेलाडीलाई कारबाही गरेको थियो। एन्फाले मनाङका जगजित श्रेष्ठ पाँच तथा अन्य खेलाडीलाई दुई खेलका लागि निलम्बन गरेको छ।

त्यसमा मछिन्द्रका तीन खेलाडी निलम्बनमा परेका छन्। मछिन्द्रका रक्षक देवेन्द्र तामाङ, विजय धिमाल र फरवार्ड दीपक राई दुई खेलका लागि निलम्बनमा परेका छन्।

आज जावलाखेलविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेपछि मछिन्द्रका प्रशिक्षक कटवालले विशेषगरी देवेन्द्रको निलम्बनप्रति असन्तुष्टि व्यक्त गरे।

"कारबाहीप्रति म असन्तुष्ट छु। उताबाट आएको खेलाडीले हात हालेपछि मात्र देवेन्द्र जंगिएका हुन्। त्यसअघि उनले विवाद मिलाउन खेलाडीलाई छुट्याएका मात्र थिए", मछिन्द्रका प्रशिक्षक कटवालले भने, "तर उसलाई पनि कारबाही भयो। उनीहरूको विदेशी खेलाडीले पनि हातपात गरेका थिए। जुन भिडिओ फुटेजमा प्रष्ट देखिन्छ। तर, उनीहरूमाथि केही कारबाही भएन।"

कटवालले खेलाडीको कारबाहीले जावलाखेलविरुद्धको खेल कठिन बनेको बताए। उनले खेलाडी नभएका कारण ‘फर्मेसन’ मै परिवर्तन गर्नु परेको बताए।

"हाम्रो खेलाडी कारबाहीमा परेका कारण आज हामीलाई अलि गाह्रो भयो। आज हामीले नियमित फर्मेसनमा पनि परिवर्तन गर्नु पर्‍यो", प्रशिक्षक कटवालले भने, "हामीले शुरूमा ३–५–२ को फर्मेसनमा खेलेका थियौं। तर नयाँ फर्मेसनमा खेल्न गाह्रो भएका कारण पछि फेरि ४–३–३ मै खेल्यौं।"

मछिन्द्रको बेन्चमा बिमानप्रसाद राई, सूर्य अधिकारी, बुद्धराज लिम्बु, सुमन महर्जन। अन्य तीन खेलाडी मनिलरत्न शाही, प्रदीप कार्की र राज श्रेष्ठ भने बेन्चमा थिएनन्। तथापि जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रका प्रशिक्षक कटवालले लिगमा अपराजित रहेको टीमविरुद्ध तीन अंक लिन पाउँदा खुशी लागेको बताए।

"हाम्रो स्कोरिङमा पनि समस्या देखियो। तर जावलाखेल लिगमा यसअघिसम्म अपराजित थियो। उनीहरूविरुद्ध तीन अंक लिनु महत्त्वपूर्ण हो। त्यसैले आजको नतिजाबाट म खुशी छु", मछिन्द्र प्रशिक्षक कटवालले भने। मछिन्द्रले अब हिमालयन शेर्पासँग २ माघसम्म प्रतिस्पर्धा गर्नेछ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले मछिन्द्रको खेलाडी कारबाहीमा रहेको तथा बेन्च कमजोर बन्दा पनि त्यसको फाइदा उठाउन नसकेको सुखद् नभएको बताए।

"मछिन्द्रका खेलाडी कारबाहीमा परेका कारण हामीलाई अलि सहज भएको थियो। उनीहरूको बेन्च पनि पूर्ण थिएन। तर हामीले त्यसको फाइदा लिन सकेनौं", लिगमा पहिलो हार बेहोरेका जावलाखेलका प्रशिक्षक थापाले भने, "पहिलो हाफमा हामीले राम्रो खेल्न सकेनौं। दोस्रो हाफमा राम्रो खेलेका थियौं। उनीहरूलाई पनि गाह्रो भइसकेको थियो तर हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौं।"

प्रतिक्रिया दिनुहोस्