मछिन्द्र शीर्षमा, जावलाखेलको अपराजित यात्रा समाप्त

काठमाठौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजन पाँच खेलसम्म अपराजित रहेको जावलाखेल युथ क्लब आज मछिन्द्र क्लबसँग १–० पराजित भएको छ।

जावलाखेल युथ क्लबलाई हराउन विशाल राईले पहिलो हाफमा गरेको गोल पर्याप्त बन्यो। मछिन्द्रको यो चौथो जित हो भने जावलाखेलको पहिलो हार।

जितसँगै मछिन्द्र क्बल शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र कम्तीमा पनि तीन घण्टाका लागि शीर्ष स्थानमा रहनेछ।

मछिन्द्रले ६ खेलबाट १३ अंक जोडेको छ। दोस्रो स्थानमा १२ अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। मनाङ मर्स्याङ्दी ११ अंकका साथ तेस्रो स्थानमा छ। तथापि त्रिभुवन आर्मी र मनाङले एक खेल कम खेलेका छन्।

आजै दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबविरुद्ध खेल्नेछ। मनाङले हिमालयन शेर्पालाई हराए शीर्ष स्थानमा उक्लनेछ। जावलाखेल ९ अंकका साथ पाँचौं स्थानमा यथावत् छ।

३०औं मिनेटमा विशाल राईले १८ यार्डबाट हानेको प्रहारलाई जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले ठम्याउन सकेनन्। ४७औं मिनेटमा कुवेर विष्टको फ्रिकिकमा पेनाल्टी क्षेत्रभित्र रहेका फोडे फोफानाको हेड आकाशिएपछि जावलाखेलले बराबरी गर्ने राम्रो मौका गुमाएको थियो।

मछिन्द्रले यसअघि ब्रिगेड ब्वाइज, फ्रेण्ड्स र न्युरोड टीम (एनआरटी) लाई पराजित गरेको थियो भने च्यासल युथ र मनाङसँग बराबरीमा रोकिएको थियो। जावलाखेलले सरस्वती युथ र च्यासल युथलाई पराजित गरेको थियो भने एनआरटी र थ्री स्टारसँग बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्