मनमोहन मेमोरियल कपः पुलिस सेमिफाइनलमा
काठमाडौं। दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले आज प्रदेश २ लाई ४६ रनले हराउँदै मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि सुनसरीको इनरूवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल पुलिस क्लबले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो।

दीपेन्द्रसिंहले बलिङतर्फ पनि तीन विकेटको योगदान गरेपछि १८४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.२ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

जितसँगै पुलिस क्लब समूह ‘बी’ बाट विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। यसअघि प्रदेश ३ र त्रिभुवन आर्मी क्लबले पनि अन्तिम चारमा स्थान बनाइसकेका छन्।

१८४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ का लागि विशाल सुस्लिङले सबभन्दा धेरै ८० रन बनाए। विशालले ११२ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे। हरिशंकर शाहले १८ तथा हसिम अन्सारीले १० रन बनाउनु बाहेक प्रदेश २ का अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिस क्लबका दीपेन्द्रसिंहले सात ओभरमा दुई मेडन राख्दै २० रन दिएर तीन विकेट लिए। त्यस्तै ललितसिंह भण्डारीले ६ ओभरमा २१ रन दिएर तीन विकेट लिए। पवन सर्राफले दुई विकेट लिँदा ललित नारायण राजवंशी र सागर ढकालको नाममा एक-एक विकेट रह्यो।

त्यसअघि पुलिस क्लबका लागि दीपेन्द्रसिंहले ६४ बलमा पाँच चौका र दुई छक्का हान्दै ५० रन बनाए। अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए।

प्रदेश २ का लेग स्पिनर कुमार थापाले पाँच विकेट लिए। उनले पाँच विकेट लिने क्रममा १० ओभरमा तीन मेडन राख्दै ३२ रन खर्चिए। राहुलप्रताप सिंह र विवेक यादवले समान दुई विकेट लिए।

भाेलि, २६ पुसमा समूह ‘डी’ को सुदूरपश्चिम प्रदेशले मलेसियाको राष्ट्रिय क्रिकेट टीमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्