गतिला स्ट्राइकर छैनन् नेपाली फुटबलमा
काठमाडौं। फुटबलमा गोल नभए कसरी जित्नु ? राम्रो स्ट्राइकर नभए गोल कसरी हुनु ? तर, सत्य के हो भने नेपालमा अहिले राम्रो स्ट्राइकरको खडेरी छ।

काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको नतिजाले पनि देखाउँछ– नेपालमा राम्रा स्ट्राइकर छैनन्। यसको मतलब नेपालमा स्ट्राइकर नै नभएका चाहिं होइनन्। छन्। तर, गोल गर्न सकिरहेका छैनन्।

स्ट्राइकरले गोल नगरे उनीहरूको के काम ? विडम्बना, पछिल्लो समय नेपाली फुटबलको समस्या नै यस्तै भएको छ। स्ट्राइकर त छन्, तर मैदानमा टीमको फर्मेसन पूरा गर्नका लागि मात्र। वा भनौं पोजिसन खाली नराख्नकै लागि मात्र।

२४ पुसमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको सरस्वती क्लबसँग १-० को संघर्षपूर्ण नतिजा निकालेपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेको निष्कर्ष पनि त्यही थियो– पछिल्लो पुस्तामा ‘प्रपर स्ट्राइकर’ को अभाव देखिएको छ।

“फुटबलमा चाहिने सबैभन्दा महत्त्वपूर्ण त गोल नै हो। तर, स्ट्राइकरमा गोल हान्न नसक्ने समस्या देखिएको छ,” त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपानेले भने, “नयाँ पुस्तामा खास खेलाडी देखिएनन्। भेट्रान खेलाडीले मात्र गोल गरिरहेका छन्। नयाँ खेलाडीले जुन लेभलमा गोल गर्नुपर्ने हो, त्यो लेभेलमा गर्न सकेका छैनन्।”

२८ पुसबाट शुरू शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल सम्पन्न भइसकेको छ। पाँचौं चरणसम्ममा ३५ खेल भइसके। तर, लिगमा धेरै गोल गर्ने खेलाडीमा सन्तोष साहुखल शीर्ष स्थानमा छन्।

उनले पाँच गोल गरेका छन्। ३३ वर्ष नाघिसकेका सन्तोष लिगमा धेरै गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा हुनुले नयाँलाई चुनौती दिइरहेको छ।

नेपाल पुलिस क्लबका सुमन लामा, मनाङ मर्स्याङदीका बिमल राना र एपीएफका आशिष लामाले समान तीन गोल गरेका छन्।

थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीको गुनासो पनि न्यौपानेको भन्दा फरक छैन। गतिलो स्ट्राइकर जन्मन नसक्नु नेपाली फुटबलकै विडम्बना भएको केसी बताउँछन्।

नयाँ पुस्तामा आश गरिएको अर्को खेलाडी हुन्, रेजिन सुब्बा। रेजिनले पनि एकभन्दा धेरै गोल गर्न सकेका छैनन्। त्यसैले त सन्तोष साहुखलको रवाफ अझै कायमै छ। उनी निर्धक्क भन्छन्, नेपाली फुटबलको स्तर धेरै तल छ।

“अहिले लिगमा कुनै पनि टीमसँग ‘प्रपर स्ट्राइकर’ छ जस्तो लाग्दैन। त्यसैले लिगमा पाँचौं चरणको खेल सकिँदा पनि हाई स्कोररको तीन (च्यासलले खेलिसकेको थिएन) गोलभन्दा छैन”, घरेलु फुटबलमा आफ्नो जमानाका नामुद स्ट्राइकर केसीले थपे, “यो नेपाली फुटबलकै समस्या हो। आफूलाई स्ट्राइकर भन्छन्, तर १०/१५ अन्तर्राष्ट्रिय खेल खेल्दा पनि एक गोल गर्न गाह्रो हुन्छ। यो नेपालको विडम्बना हो।”

पछिल्लो समय राष्ट्रिय टीममा नियमित पर्ने खेलाडी हुन्, अभिषेक रिजाल। उनी अहिले मछिन्द्र क्लबबाट खेलिरहेका छन्। तर, अहिलेसम्म गोल गर्न सकेका छैनन्। अर्का चल्तीका फरवार्ड हुन्, नवयुग श्रेष्ठ।

उनले पनि दुई गोलभन्दा गर्न सकेका छैनन्। २४ पुसमा सरस्वतीविरूद्धको खेलमा त नवयुगले आधा दर्जन गोलका राम्रा अवसर खेर फाले। त्रिभुवन आर्मीकै कप्तान भरत खवासले पनि एक गोलभन्दा गर्न सकेका छैनन्।

नयाँ पुस्तामा आश गरिएको अर्को खेलाडी हुन्, रेजिन सुब्बा। रेजिनले पनि एकभन्दा धेरै गोल गर्न सकेका छैनन्। त्यसैले त सन्तोष साहुखलको रवाफ अझै कायमै छ। उनी निर्धक्क भन्छन्, नेपाली फुटबलको स्तर धेरै तल छ।

कुनै समय लिगको एउटै खेलमा एउटै टीमले दर्जन भन्दा धेरै गोल हानेको इतिहास छ। वसन्त थापा, निराजन रायामाझी, हरि खड्का, सुरेन्द्र तामाङ, अनिल गुरूङ, जुमानु राई, भरत खवासजस्ता खेलाडीको प्रदर्शन सम्झंदै त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपाने भन्छन्, “त्यतिबेलाका खेलाडीहरूले अवसर खेर फाल्दैनथे। अहिले त्यस्तो हुन सकेको छैन। त्यसैले नाम चलेका खेलाडीहरूले आफ्नो लेभल मेन्टेन गर्न पनि पाएको अवसरमा गोल गर्नैपर्छ।”

च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखल पनि नेपालमा नम्बर ९ को खेलाडी नै नभएको बताउँछन्। उनी भन्छन्, “नयाँ पुस्तामा नम्बर ९ खेलाडी मैले देखेको छैन। त्यसैले अहिले कोही छ भने त्यो सन्तोष नै हो।”

नेपालमा राम्रो स्ट्राइकर नहुँदा विदेशी खेलाडी खोज्नु परेको लिगमा अधिकांश प्रशिक्षकको गुनासो छ। पहिलो चरणको खेल सकिँदासम्म धेरै क्लबले विदेशी खेलाडी खेलाउन पाएका थिएनन्, श्रम स्वीकृतिकाे प्रकृया पूरा नगरेकाले। त्यसैले खेलपछिको पत्रकार सम्मेलनमा सबै प्रशिक्षकको गुनासो हुन्थ्यो, ‘विदेशी खेलाडी खेलाउन नपाएका कारण टीमको वास्तविक खेल देखिएको छैन।’

लिगमा चार खेल गोलहित बराबरीमा सकिएको छ। आठ खेल १–० को नतिजामा सकिएको छ। चार खेल १–१ को बराबरीमा सकिएको छ। आठ खेल २–० को नतिजामा सकिएको छ। लिगमा सबभन्दा धेरै गोल भएको खेल संकटा र एपीएफको खेल हो। ६ गोल भएको उक्त खेल विगतको औसत गोलको तुलनामा कम हो।

दुई दशकदेखि फुटबल रिपोर्टिङ गर्दै आएका पत्रकार अजय फुयाल स्ट्राइकरमा ‘किलिङ इन्सिटिङ्क्ट’ नदेखिनुका साथै मिडफिल्डबाट गरिने ‘पेनिट्रेसन’मा पनि समस्या रहेको बताउँछन्।

“निराजन रायामाझी र वसन्त थापामा जस्तो ‘किलिङ इन्सटिङ्क्ट’ आजकालका फरवार्डमा देखिन छोड्यो”, फुयालले थपे, “मिडफिल्डबाट आउने फाइनल पास र फरवार्डको फाइनल टचमा समस्या छ। लामो समय देशमा प्रतिस्पर्धात्मक फुटबल नभएकाले पनि खेलाडीहरूमा स्कोरिङ ह्याबिट छैन।”

प्रतिक्रिया दिनुहोस्