सार्वजनिक यातायातमा छड्के अनुगमन
काठमाडाैं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा छड्के अनुगमन गर्न शुरू गरेको छ। सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन सवारी चालकको महत्त्वपूर्ण भूमिका रहने भन्दै महाशाखाले अनुगमन अघि बढाएको हो।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले सार्वजनिक सवारीसाधनका विषयमा सर्वसाधारण लगायतबाट आएका गुनासोपछि अनुगमन थालिएको बताए। “भाडाका सार्वजनिक सवारीसाधन तथा चालकमा देखिएका कमीकमजोरीहरूलाई सच्याउन चालकलाई प्रतिबद्धता पत्र दिएका छौं”, उनले भने,“चालकहरूले पालना गर्नुपर्ने ट्राफिक नियम तथा यात्रुहरूप्रति सेवाभावका साथ आफूलाई बदल्न समेत यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

आज बिहान सुन्धारा क्षेत्रमा २३ वटा सवारीसाधनमा छड्के अनुगमन गरिएको हो। महाशाखा प्रमुख ढकालले सवारी दुर्घटना न्यूनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरू व्यावसायिक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउनुपर्ने बताए। १७ पुसमा सार्वजनिक सवारीसाधनहरूको ढकालले अनुगमन गरेका थिए।

अनुगमनका क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरूले गरेका गुनासोहरूको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरू, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा २० पुसमा छलफल भएर १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो।

सरोकारवालाको समेत सहभागिता हुने गरी अनुगमन समिति गठन गरिएको थियो। सोही समितिले आज अनुगमन गरेको हो।

अनुगमन समिति संयोजक प्रहरी उपरीक्षक राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरू समेत सहभागी भएर आज अनुगमन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्