आजबाट स्वस्थानी व्रत, शालीनदीमा मेला शुरू

काठमाडौं। आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरू भएको छ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरू हुन्छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

स्वस्थानीमा काठमाडौंको शालीनदीमा हरेक वर्ष मेला लाग्छ। व्रत र उपासनाका लागि यहाँ भक्तजनहरुको घुँइचो लाग्छ।

एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए।

महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’ स्थापना गरेको छ।

साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्