सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भन्यो– ‘एम्बुलेन्स खरीदमा अनियमितता छैन’

कैलाली। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरीदमा अनियमितता नभएको बताएको छ।

टाटा कम्पनीका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर तीन करोड बढी रूपैयाँ भ्रष्टाचार गरेको, कमसल र पुराना गाडीहरूलाई एम्बुलेन्स बनाएर स्वास्थ्य संस्थालाई बाँडेको आरोप लागेपछि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै समाचारमा भनिएजस्तो भ्रष्टाचार नभएको र राम्रा एम्बुलेन्स बाँडेको दाबी गरेको हो।

आज बिहान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै निवासमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई बोलाएर एम्बुलेन्स प्रकरणका बारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएपछि सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।

सार्वजनिक खरीद ऐन नियमावली बमोजिम सबभन्दा कम रकम कबुल गर्ने टाटा मोटर्स लिमिटेडबाट एम्बुलेन्स खरीद गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा बाँडिएका एम्बुलेन्स २०१४ को ४०७/०३१–४ २१२१ मोडेलको नभई २०१९ मा बनेको एसएफसी ४०७/३१ ४*४ बीएस४ मोडेलका वातानुकूलित एम्बुलेन्सहरू रहेको दाबी गरिएको छ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाडीको मूल्य १९ लाख ४५ हजार भारतीय रूपैयाँ (३१ लाख १२ हजार नेपाली रूपैयाँ) र उपकरण जडानमा सात लाख १५ हजार रूपैयाँ समेत गरी प्रतिगाडी खरीदमा ३९ लाख सात हजार रूपैयाँ रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्