शहीद स्मारक ‘ए’ डिभिजन लिगः च्यासल र पुलिस क्लबबीच २-२ काे बराबरी

काठमाडौं। सन्तोष साहुखलले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा गोलको शतक पूरा गरेको दिन च्यासल युथ क्लबले आज नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषले १८औं मिनेटमा गाेल गर्दै एक सय गाेल पूरा गरेका थिए। त्यसअघि नीरकुमार राईको गोलमा नेपाल पुलिस क्लबले अग्रता लिएको थियो।

४०औं मिनेटमा सुनिल लामाको गोलमा नेपाल पुलिस क्लबले पुनः अग्रता लिएको थियो। सन्तोषले ४९औं अर्को गोल थपेपछि च्यासल युथले एक अंक जोड्न सफल भयो। यससँगै लिगमा सन्तोषको गोल संख्या १०१ पुगेको छ।

मछिन्द्र क्लबविरुद्ध २७औं मिनेटमा ९९औं गोल गरेका सन्तोषले १००औं गाेल पूरा गर्न थप तीन खेल कुर्नु पर्‍यो। यसबीचमा च्यासल युथले एनआरटी र जावलाखेल युथ क्लबसँग खेलेको थियो। दुवै खेलमा सन्तोषले गोल गर्न असफल रहे। च्यासल एनआरटीसँग २–१ ले पराजित भएको थियो भने जावलाखेलसँग २–० ले पराजित भएको थियो।

१०० गोलको दबाबका कारण सन्तोषले गोल गर्न नसकेको हो? भन्ने प्रश्नमा उनले भने, "दबाब त मैले त्यस्तो केही लिएको थिइँन। मैले यसलाई सामान्य रूपमा लिएको छु। मेरो गोल भन्दा टीमको जित महत्त्वपूर्ण हो। टीमलाई कसरी माथिसम्म पुर्‍याउने भन्ने मात्र सोचिरहेको छु।"

बराबरीसँगै च्यासल पाँच खेलबाट पाँच अंक जोड्दै नवौं स्थानमा यथावत् छ। पुलिस क्लब भने आठ अंकका साथ छैटौं स्थानमा छ। दुई बराबरी र दुई खेलमा पराजित भएपछि उपाधि जित्ने च्यासलको लक्ष्यमा भने धक्का लागेको छ।

"आज जितेको भए केही सम्भावना कायमै हुन्थ्यो तर अब धेरै गाह्रो छ", च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, "मनाङभन्दा हामी ६ अंकले पछि परिसक्यौं। त्यसैले अब उपाधि भन्दा पनि राम्रो भन्दा राम्रो नतिजा निकाल्दै शीर्ष चारभन्दा माथि रहने रहेको छ।"

प्रशिक्षक बालगोपालले सन्तोषले बनाएको कीर्तिमान तोड्न धेरै समय लाग्ने बताए। उनले भने, "खेलाडीहरूले युवा अवस्थाबाटै खेल्नुपर्‍यो र निरन्तर गोल पनि गर्नुपर्‍यो। आजभोली निरन्तर गोल गर्ने खेलाडी देखिएको छैन। क्बलहरूले पनि विदेशी खेलाडी खोजिरहेका छन्। त्यसैले यो कीर्तिमान तोड्न धेरै समय लाग्छ।"

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आज सन्तोष भाग्यमानी रहेको बताए। उनले थपे, "लिगमा १०० गोल पूरा गर्नु जोक होइन। हाम्रै खेलमा १०० गोल पूरा गर्नु लेखेको जस्तो लाग्यो। हेमन्तले हानेको फ्रिकिक किपरबाट फुत्किएर उसकै खुट्टामा पर्नु। दोस्रो गोल पनि त्यस्तै भयो। उनलाई बधाई छ।"

आजै सम्पन्न अघिल्लो खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३–१ ले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारले पाँच खेलबाट १० अंक जोडेको छ। जुन शीर्ष स्थानको मनाङ मर्स्याङ्दी भन्दा एक अंकले कम हो भने दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी हो।

१५औं मिनेटमा सुशान्त श्रेष्ठको गोलबाट अग्रता लिएको थ्री स्टारले ४१औं मिनेटमा अनन्त तामाङको गोलमा अग्रता दोब्बर बनाएको थियो। ५८औं मिनेटमा वासिउ ओलाडिरन हजमतले अर्को गोल थपेपछि थ्री स्टारले तीन गोलको अग्रता बनाएको थियो।

६६औं मिनेटमा दीपकराज सिंहले रातो कार्डको सामना गरेपछि ब्रिगेड ब्वाइज १० खेलाडीमा सीमित बनेको थियो। अन्तिम मिनेटमा रोशन रानामगरले गरेको गोल ब्रिगेड ब्वाइजका लागि सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्