बैंक र रेमिट ह्याक प्रकरण: थप तीन आरोपी पक्राउ
काठमाडौं। कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौंबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो ।

बैंकबाट भट्टको खातामा ४५ लाख र न्यौपानेको खातामा २८ लाख रूपैयाँ हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

हिजाे पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । भुसालको बैंक खातामा ६५ लाख रूपैयाँ जम्मा भएको पाइएको प्रहरीले जनाएको छ ।

महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी चार करोड ७३ लाख ९६ हजार रूपैयाँ विभिन्न व्यक्तिको नाममा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रूपैयाँ निकालेका थिए । १० लाख रूपैयाँ हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् ।

प्रहरीले ६० लाख रूपैयाँ बरामद गरिसकेको छ । मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्