सप्तरीमा हात्ती आतंक
सप्तरी। सप्तरीको उत्तरी भेगका वस्तीमा हात्ती आतंक बढेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न वस्तीहरूमा आतंक मच्चाउने गरेकाे छ।

पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको वस्तीमा पसेर तीन घरमा तोडफोड गरेको छ। मध्यरातमा आएको हात्तीले गाउँपालिका कार्यालयसँगै जोडिएको वडा नं २ मा एक र वडा नं ४ का दुई घर गरी तीन घरमा क्षति गरेको पीडितहरुले जनाएका छन्।

तीनवटाको समूहमा आएको ती हात्तीले चामल, तोरी, तरकारी, दाल, फर्निचर, घर र तरकारीबाली नष्ट गरेको स्थानीयले बताएका छन्। उनीहरूले घरमा खानका लागि जोहो गरेर राखेको अन्नपातसमेत हात्तीले खाइदिएको छ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अझैसम्म हात्तीको आतंक नरोकिएपछि स्थानीयवासी दैनिक चिसोको बेला राति जाग्राम बस्नुपरेको पीडित बताउँछन्। पछिल्ला केही दिनदेखि लगातार जिल्लाको शम्भुनाथ नगरपालिका तथा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जंगलबाट आएको हात्तीको समूहले घर भत्काउँदा लाखौंँको क्षति भएको छ।

पीडितकाे विचल्ली

हात्तीको समूहले घर भत्काउँदा सप्तरीको रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा ६ घरपरिवार अहिले विचल्लीमा परेका छन्।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट सातवटाको समूहमा आएको जंगली हात्तीको समूहले रुपनी गाउँपालिकाका बालकृष्ण खुलाल मगर, सुरज राई, दिनेश राई, चतुरमान राई र अग्निसाइर कृष्णासवरन गाउँपालिकाका डुब्जसिंह तामाङको घर भत्काउँदा उनीहरू विचल्लीमा परेका हुन्। ६ परिवारलाई हातमुख जोड्न समस्या भएको स्थानीयवासी मिलन चौधरीले बताए।

एक दिन अगाडि मात्रै मध्यरातमा आएको हात्तीको समूहले घरभित्र रहेको टेलिभिजन, चामल, फर्निचर, लत्ताकपडा र दुई घरसहितमा तोडफोड गर्दा उनीहरू विचल्लीमा परेको स्थानीय बृजमान तमाङले बताए।  हात्तीले दुईवटै घर भत्किएकोले छिमेकीको घरमा शरण लिएर बसेको पीडित बालकृष्ण खुलाल मगरले बताए। रासस

प्रतिक्रिया दिनुहोस्