हिमपातले मुगु सञ्चारबिहीन

रारा। हिमपातका कारण जुम्लाको डाँफे लेकको टेलिकमको टावरको रेडियो लिङ्कमा समस्या ल्याएपछि मुगुमा सञ्‍चार सम्पर्क विच्छेद भएको छ।

एडीएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ। १७ पुसदेखि सो क्षेत्रमा हिमपात भएको छ।

इन्टरनेट अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको छ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकको काम गर्न नसकिएको बताए।

इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पाएका छैनन्।

डाँफेलेकमा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले टावरमा के-कस्तो समस्या हो बुझ्न जान नसकेको टेलिकमको मुगु कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्