मनमोहन मेमोरियल कपः एपीएफ विजयी

काठमाडौं। सुमित महर्जनको ८३ रन तथा सूर्य तामाङको चार विकेटप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा ८३ रनको विजय हासिल गरेको छ। एपीएफले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरलाई पराजित गरेको हो।

सुमितले १०७ बलमा सात चौकासहित ८३ रन बनाएका थिए। सुनसरीस्थित इनरूवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो।

२०५ रनको लक्ष्य पछ्याएको मनमोहन मेमोरियल क्रिकेट सेन्टरले ३६.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। जितसँगै समूह ‘ए’ एपीएफ र त्रिभुवन आर्मी क्लबको समान दुर्ई अंक भएको छ। त्रिभुवन आर्मी क्लबले २० पुसमा एपीएफलाई पराजित गरेको थियो।

भोलि, २२ पुसमा हुने समूहको अन्तिम खेलमा त्रिभुवन आर्मी र मनमोहन मेमोरियल क्रिकेट सेन्टरबीच प्रतिस्पर्धा हुनेछ। त्रिभुवन आर्मी विजयी भए अन्तिम चारमा स्थान बनाउनेछ भने पराजित भए एपीएफ र त्रिभुवन आर्मीमध्ये रनरेटका आधारमा एक टोली अन्तिम चारमा पुग्नेछ।

एपीएफका सुमितले ८३ रन बनाउनुबाहेक शंकर रानाले ३६, प्रदीप ऐरीले १९ तथा सन्दीप जोरा र वसन्त रेग्मीले समान १२ रन बनाए। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका सरोज बस्नेतले चार विकेट लिए भने भूपाल लुइँटेल, सोनु मन्डल र अल्फाज मनसुरीले समान दुई विकेट लिए।

एपीएफका सूर्य तामाङले चार तथा वसन्त रेग्मीले तीन विकेट लिएपछि मनमोहन मेमोरियल क्रिकेट सेन्टरका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। मनमोहन मेमोरियल क्रिकेट सेन्टरका लागि रवि रोएले २६, रूपेश श्रीवास्तवले २३ तथा विवेक मेहेताले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सूर्यले ८.२ ओभरमा २५ रन दिएर चार विकेट लिए। वसन्तले सात ओभरमा १० रन दिएर तीन विकेट लिए। यज्ञमान कुमालले दुई तथा अमरसिंह राउटेलाले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्