जावलाखेलका प्रशिक्षक भन्छन्- 'शीर्ष स्थानमा उक्लने मौका गुमायौं'

काठमाडाैं। न्यूरोड टीम (एनआरटी)सँग बराबरीमा रोकिएपछि जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापाले शीर्ष स्थानमा उक्लने राम्रो मौका गुमाएको बताए।

जावलाखेलले जितेको भए ११ अंकका साथ शीर्ष स्थानमा उक्लिन्थ्यो। तर, बराबरीमा रोकिएपछि जावलाखेल चौथो स्थानमा कायमै छ।

"हामी केही घण्टाका लागि भए पनि शीर्ष स्थानमा उक्लिन्थ्यौं। खेलाडीलाई आज हामीले त्यहीअनुसार प्रोत्साहन गरेका थियौं," जावलाखेलका प्रशिक्षक थापाले भने, "तीन अंक नै लिनु पर्ने थियो। तर, शुरूमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्नु दूर्भाग्य भयो।"

जावलाखेल लिगमा अपराजित छ। लिगमा अहिलेसम्म पराजित नहुने तीन क्लबमध्ये जावलाखेल एक हो। जावलाखेलले दुई खेल जितेको छ भने तीन खेल बराबरी खेलेको छ। लिगमा अपराजित रहने अरू क्लबमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब हुन्।

एनआरटी गत सिजन लिगको पुछारमा थियो। एन्फाले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने क्लबहरूको क्रमशः दुई र एक अंक नयाँ सिजनमा घटाउने निर्णय गरेको थियो।

एनआरटी गत सिजन पुछारमा रहेका कारण यस सिजन शुरूमै दुई अंक घटाइएको छ। त्यसले क्लबलाई ठूलो घाटा लागेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले बताए।

"गत सिजनको दुई अंक घटेका कारण हामीलाई ठूलो घाटा लागेको छ। त्यसो नभएको भए हामी अहिले पाँचौं स्थानमा हुन्थ्यौं। तर यस सिजन हामी रेलिगेशनमा पर्दैनौं," आजको खेलबारे एनआरटीका प्रशिक्षक शाक्यले भने, "म सन्तुष्ट छैन। मिडफिल्डमा ग्याप देखियो। पहिलो हाफ राम्रो खेलेका थियौं तर दोस्रो हाफमा राम्रो गर्न सकेनौं।"

बराबरीसँगै एनआरटी पाँच अंकका साथ आठौं स्थानमा कायमै छ।

प्रतिक्रिया दिनुहोस्