यसरी भयो दिल्लीको जेएनयूमा विद्यार्थी र शिक्षकमाथि सांघातिक आक्रमण
काठमाडौं। सबैभन्दा ठूलो लोकतन्त्र भनिने भारतमा २० पुस साँझ भने विश्व विद्यालयभित्रै प्रवेश गरेर विद्यार्थीमाथि आक्रमण भएको छ।
हातमा लाठी र छड बोकेर प्रवेश गरेका नकाबधारीहरूको हमलामा परेर जवाहरलाल नेहरु (जेएनयू) विश्वविद्यालयका विद्यार्थी र शिक्षक घाइते भएका छन्। आक्रमणबाट २६ जना घाइते भएका छन्।
प्रत्यक्षदर्शी र घाइतेहरूले सयभन्दा बढी नकावधारीहरू प्रवेश गरेको बताएका छन्।
ती मानिसहरू सत्तारूढ भारतीय जनता पार्टीको भातृ संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) सँग सम्बन्धित भएको जेएनयूको विद्यार्थी युनियनको आरोप छ।
प्रत्यक्षदर्शीहरूले ती आक्रमणकारीलाई रोक्न प्रहरीले कुनै प्रयास नगर्दा उनीहरू क्याम्पसभित्र छिर्न सफल भएको समेत आरोप लगाएका छन्।
आक्रमणमा परेर जेएनयू विद्यार्थी युनियनकी अध्यक्ष आयशी घोषसहित २२ विद्यार्थी घाइते भएका छन्। साथै दुई शिक्षक र दुई गार्ड समेत घाइते भएका छन्। घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ।
आक्रमणकारीहरूले उद्वारका लागि पुगेका डाक्टर र एम्बुलेन्समाथि पनि आक्रमण गरेका थिए।
आक्रमण बेलुका साढे ६ बजे शुरू भएको थियो। त्यतिबेला ‘जेएनयू टिचर्स एशोसिएसन’ले आयोजना गरेको सद्भाव र्याली समापन हुँदैथियो।
प्रत्यक्षदर्शीका अनुसार, नकावधारीहरू आक्रमणभन्दा एक घण्टा पहिले ‘पेरियार होस्टल’मा जम्मा भएका थिए ।
"उनीहरूले हिन्दीमा बोल्दै हामीलाई दुर्व्यवहार गर्न थाले। जब म भाग्न थाले उनीहरूले फलामे रडले मेरो शिरमा प्रहार गरे। मलाई टाउको र हातमा चोट लागेको छ", अस्पतालमा भर्ना भएका एक विद्यार्थीले भने।
सयभन्दा बढी नकावधारीहरू हातमा लाठी र रड बोकेर अघि बढ्न थालेको देखेपछि शिक्षकहरूले उनीहरूलाई शान्त पार्ने प्रयास गरेका थिए। तर भीडले शिक्षकमाथि नै आक्रमण गर्न थाल्यो।
"उनीहरूले हामीलाई ठूला-ठूला ढुंगाले प्रहार गर्न थाले। र कुटपीट गरे", एक शिक्षकले भने।
आक्रमणबाट प्राध्यापक शुक्ला शावन्तले शिर र ढाडमा आक्रमण भएको बताइन्। "उनीहरू हामी सबैमाथि ढुंगा हान्न र कुट्न शुरू गरे", उनले भनिन्।
"जेएनयु गेटमा प्रहरी थियो तर उसले रोक्ने प्रयास नै गरेन। हामी दुई घण्टासम्म यो होस्टलदेखि त्यो होस्टलसम्म भागिरह्यौं", प्राध्यापक अतुलले भने।
विद्यार्थीका अनुसार कम्तिमा सातवटा होस्टलमा आक्रमण भएको छ। ती होस्टलका ढोका भाँचिएका छन्। झ्याल फुटेका छन्। विद्यार्थीका सामग्रीहरू गल्लीभरि छरिएका छन्।
एउटा भिडिओमा महिलाहरूले भीडलाई फर्किन भन्दाभन्दै पनि पुरूष आक्रमणकारीहरूले उनीहरूलाई हतियारले आक्रमण गरेको देखिएको छ।
एबीभीपीले यो हिंसामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे पनि सबैजसो प्रतिपक्षी पार्टीहरूले उसको दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूले भारतीय जनता पार्टी समर्थकहरूले नै आक्रमण गरेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्