जेएनयूमा विद्यार्थीमाथि नकावधारी समूहको सांघातिक हमला

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा नकावधारी समूहले विद्यार्थीमाथि २० पुस साँझ सांघातिक हमला गरेको छ।

उक्त समूहको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित २३ जना विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुखमा मास्क लगाएका आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी लिएर आक्रमण गर्न विश्वविद्यालय छिरेका थिए। मुकुण्डोधारी आक्रमणकारीले विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी नेता, अन्य विद्यार्थीलगायतमाथि सांघातिक आक्रमण गरेका हुन्। जेएनयूको विद्यार्थी युनियनका अध्यक्ष आयसे घोससहित कैयौं गम्भिर घाइते भएका छन्।

घोस आक्रमणमा परि रक्ताम्मे भएको तस्वीर र भिडिओमा देखिएको छ। आक्रमणमा परी फ्याकल्टी सदस्य सुचित्रा सेनको टाउकोमा चोट लागेको छ।

क्याम्पस र छात्राबासमा घुसेका उनीहरूको आक्रमणबाट घाइते भएका विद्यार्थीलाई अस्पताल पुर्‍याउने एम्बुलेन्स र परिसरमा पार्क गरिएका गाडी पनि उनीहरूले तोडफोड गरेका छन्।

विद्यार्थी युनियनले भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संघ अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) आवद्ध व्यक्तिहरुले मुकुण्डो लगाएर आक्रमण गरेको आरोप लगाएको छ।

विद्यार्थीहरुले सरकारले आक्रमणकारीलाई संरक्षण गरेको आरोप लगाएका छन्।

विश्वविद्यालयका विद्यार्थीहरूले छात्रावासको शुल्क वृद्धिको विरोधमा निकालेको र्‍यालीमा अखिल भारतीय विद्यार्थी परिषदले ढुंगा र रडले हमला गरेको विद्यार्थीशरुको आरोप छ। प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डहरूले पनि नकाबधारी समूहलाई सघाएको विद्यार्थीहरु बताउँछन्।

विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्