१२२ जना चिनियाँलाई अध्यागमन विभागको जिम्मा
काठमाडौं। एक/एक हजार जरिवाना तिरे लगत्तै ७ पुसमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक/एक हजार रूपैयाँ जरिवाना लिएर थुनामुक्त गर्न आदेश दिएपछि उनीहरूले जरिवाना तिरेका थिए। लगत्तै प्रहरीले आवश्यक कारबाही प्रक्रियाका लागि अध्यागमन विभागको जिम्मा लगाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले १२२ जना चिनियाँ नागरिकलाई आजै बेलुका अध्यागमन विभागमा बुझाइएको जानकारी दिए। “हाम्रो काम सकियो। अब के गर्ने भन्ने निर्णय अध्यागमनले गर्छ”, उनले देखापढीसँग भने।

प्रहरीले उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। नेपालमा बसेर उनीहरूले चीनविरुद्ध साइबर अपराध गर्दै आएको आशंका गरिएको थियो।

अध्यागमन विभागले उनीहरूको भिसा रद्ध गरेर देश निकाला गर्ने अनुमान गरिएको छ। “१२२ जनाकै भिसा खारेज गरेपछि उनीहरू अवैध रूपले बसेको देखिनेछ”, एक सुरक्षा अधिकारीले भने, “त्यसपछि चीन पठाउन सहज हुनेछ।’’

पक्राउ परेका सबै पर्यटक भिसामा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्