नाथनले पाँच विकेट लिएपछि अस्ट्रेलिया बलियो
काठमाडौं। नाथन लियोनले पाँच विकेट लिएपछि अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्धको तेस्रो टेष्टको तेस्रो दिन पनि खेल आफ्नो नियन्त्रणमा राखेको छ।

टेष्ट क्रिकेटमा लियोनले पाँच विकेट लिएको यो १७औं पटक हो। लियोनले ६८ रन दिएर पाँच विकेट लिएपछि न्यूजिल्यान्डले पहिलो इनिङमा २५१ रन बनाउँदा सबै विकेट गुमायो। सिड्नी क्रिकेट मैदानमा तेस्रो दिन सकिँदा अस्ट्रेलिया बिनाविकेट क्षति ४० रन बनाएर खेलिरहेको छ। यससँगै घरेलु टोली अस्ट्रेलियाले २४३ रनको अग्रता लिएको छ।

न्यूजिल्यान्डले ६३–० को स्थितिबाट तेस्रो दिन थालेको थियो। भ्रमणकारी टोलीका टोम लाथम २६ तथा टोम ब्लुनडेल ३४ रनको स्थितिमा थियो।

कप्तान लाथमले ४९ बनाए भने ब्लुनडेलले थप रन जोड्न सकेनन्। न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सबभन्दा धेरै ५२ रन बनाए। जीन रावलले ३१, रोस टेलरले २२ र कोनिल डी ग्राण्डहोमले २० रन बनाए। टोड एस्टल २५ रनमा अविजित रहे।

लियोनबाहेक पेट कुमिन्सले तीन विकेट लिए भने मिचेल स्टार्कको नाममा एक विकेट रह्यो। तेस्रो दिन सकिँदा अस्ट्रेलियाका ओपनर डेबिड वार्नर २३ तथा जोए बर्नस् १६ बनाएर क्रिजमा छन्।

प्रतिक्रिया दिनुहोस्