राष्ट्रिय घोडचढी अर्को साता

काठमाडौं। नेपाल घोडचढी संघले राष्ट्रिय घोडचढी प्रतियोगिताको छैटौं संस्करण २५ पुसबाट गर्ने भएको छ। प्रतियोगितामा टेन्ट पेगिङ, शो-जम्प र हाइजम्पका प्रतिस्पर्धा हुने संघका अध्यक्ष रवि राजकर्णिकारले बताए।

एकदिने प्रतियोगितामा २० पुरुष र ६ महिला गरी २६ राइडरले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ भने प्रतिस्पर्धा नभई प्रोत्साहनका लागि स्पर्धा राखिएको राजकर्णिकारले बताए।

पुरुषतर्फ तीनै विधाका विजेताले २० हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले १० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। महिलातर्फ सहभागी सबैलाई जनही पाँच हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाल घोडचढी संघले आज तीन फरक संस्थासँग प्रायोजन सम्झौता पनि गरेकाे छ। सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष कर्णिकारले, टिभीएस सेल्स एन्ड विजनेश डेभलोप्मेन्टका तर्फबाट जीएम दीपकप्रसाद रौनियार, कतार एयरवेजका तर्फबाट सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोर्टसका तर्फबाट प्रतिनिधि निभा सिंहले हस्ताक्षर गरेका थिए।

प्रायोजनबापत् कतार एयरले नेपालदेखि जुनसुकै देशका लागि दुई थान राउन्ड हवाई टिकट उपलब्ध गराउनेछ। बाँकी दुई संस्थाले संघलाई समान दुई-दुई लाख रूपैयाँ प्रायोजन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्