बाजुरामा जीप दुर्घटनाः मृत्यु हुने चारैजनाको सनाखत
बाजुरा। बाजुरामा आज भएको जीप दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ।

मृत्यु हुनेमा जीपका चालक बाजुरा जगनाथ गाउँपालिका–५, गोत्रीका रमेशबहादुर शाही (२७), हिमाली गाउँपालिका–६, धुलाचौरका पवन भण्डारी (३५), मुगुको मुगुमकार्मारोङ गाउँपालिका–८ का पेम्बा लामा (३८) र कैलाली पन्याल गाउँपालिका–५ का दिनेशकुमार घर्तीमगर (३३) रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए।

अन्य चारजना घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको बाजुरा प्रहरीले जनाएको छ। हराइरहेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–४ की सुशीला विक (१३)को खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

घाइते हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–८ का गोल्जो लामा (२०), सोही ठाउँका छेत्तोङ लामा (२१), बाजुरा बुढीनन्दा गाउँपालिका–६ की सरु विक (२२) र उनकी छोरी स्मृति विक (२) रहेका छन्।

प्रहरीका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरूलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। से १ ज १०६४ नम्बरको जीप धुलाचौरबाट कोल्टी जाँदै गर्दा दिउँसो सवा १ बजे हिमाली गाउँपालिका-६, कालागडस्थित कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाको कारण खुल्न नसकेको डीएसपी भाटकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्