अछाममा छाउगाेठ भत्काइँदै
अछाम। महीनावारी हुँदा घरमा बस्न नहुने अन्धविश्वासका कारण अछाममा धेरै महिलाहरूको छाउगोठमा मृत्यु हुन थालेपछि स्थानीय सरकार, आमा समूह र प्रहरी प्रशासनको संयुक्त प्रयासमा अछामका विभिन्न स्थानमा रहेका छाउगोठ भत्काउन थालिएकाे छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न क्लब र आमा समूहको संयुक्त टोलीले छाउगोठ भत्काउने अभियान नै थालेका छन्। जसअन्तर्गत अहिलेसम्म जिल्लामा ७०५ वटा छाउगोठहरू भत्काएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए।

भारतीले ९ मंसीरदेखि अहिलेसम्म साँफेबगर नगरपालिकामा १५१ वटा, पञ्चदेवलविनायक नगरपालिकामा ६२ वटा, कमलबजार नगरपालिकामा २९, रामारोशन गाउँपालिकामा ४६, ढकारी गाउँपालिकामा १४५, मेल्लेख गाउँपालिकामा ३०,  तुर्माखाद गाउँपालिकामा २०२ र चौरपाटी गाउँपालिकामा ४० गरी जम्मा ७०५ वटा छाउपडी गोठहरू भत्काइएको बताए।

छाउपडी गोठ भत्काउनुका साथै उक्त प्रथाबारे जनचेतनामूलक कार्यक्रमका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधानको बारेमा समेत जानकारी दिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए।

उनले यो अभियान निरन्तर चलिरहने समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्