६ महीनामै पुछियो सरिताको सिउँदो

काठमाडौं। महीना दिनको छुट्टीपछि ५ पुसमा जाँदै गर्दा भारतीय सेनामा कार्यरत अर्जुन थापा यति छिटो सधैँका लागि बिदा होलान् भन्ने उनका परिवारले सोचेका थिएनन्।

तर, गोरखा नगरपालिका-५ डुम्रीडाँडा रिपका २५ वर्षीय थापाले बुधकार भारत-पाकिस्तान सीमामा भएको झडपमा परी जीवन गुमाउनुपर्‍यो।

भारतीय सञ्‍चारमाध्यमले जनाए अनुसार १६ पुसको राति कास्मिरमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा मगरको मृत्यु भएको थियो।

भारतीय सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दका अनुसार मगरसँगै भारतीय नागरिक सन्दीप रघुनाथको पनि मृत्यु भएको छ।

एसएलसी सकेर भर्खर प्लस टू पढ्दै गर्दा भारतीय सेनामा भर्ती भएका अर्जुनले गत असारमा मात्र विवाह गरेका थिए।

अर्जुनको मृत्युको खबर सुनेपछि अहिले गाउँ नै शोकमा डुबेको उनकी भाउजु पर्ने गोमा थापा मगरले बताइन्।

"विहे भाको छ महीना पनि नपुग्दै कलिलो उमेरमा हामी सबैलाई छाडेर गएको दु:खद खबर यो कानले सुनुपर्‍यो", गोमाले देखापढीसँग भनिन्।

अर्जुनले घटना हुने रात श्रीमती सरितासँग फेसबुक मेसेन्जरमा कुरा गरेको उनले भनिन्।

अर्जुनकी आमा बितिसकेकी छन्। परिवारमा उनी एक्ला छोरा हुन्।

घरमा उनका बुवा, श्रीमती र एक जना दिदी छन्।

छोराको शव बुझ्न बुहारी र छोरीलाई लिएर अर्जुनका बाबु काँकडभित्ता नेपाल-भारत सीमा काँकडभित्ता नाका गएको खबर आफूले थाहा पाएको गोरखा नगरपालिका-५ का वडाध्यक्ष रामकुमार थापा मगरले बताए।

प्रतिक्रिया दिनुहोस्