जोगवनी क्षेत्रबाट ९५ महिला तथा बालिकाको उद्धार

विराटनगर। सन् २०१९ को अवधिमा विराटनगर सीमानाको जोगवनी क्षेत्रबाट बेचबिखनमा लगिएका बालिका तथा महिला गरी ९५ जनालाई उद्धार गरिएको छ।

माइती नेपाल मोरङले उनीहरुलाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको हो।

१८ वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले बताए।

उद्धार गरिएकामा भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला छन् ।

उद्धार गरिएकाहरु मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश छन्।

अप्ठ्यारो गरी हिँड्ने, सिन्दुरपोते लगाइ हिँडने, बोल्दा अकमकाउने, एक्लै हिँड्ने आदिबाट जोखिममा परेका महिला हुनसक्ने भनेर पहिचान गर्न सीमाक्षेत्रमा निगरानी गरिरहेका विगतका पीडितका कारण उद्धारमा सहज भएको माइती नेपालले जनाएको छ।

उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने र घर जान नमान्‍नेलाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालिममा सहभागी गराइँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्