उड्डयन विधेयक रोक्ने गतिविधि गरे कारबाही गर्ने पर्यटनमन्त्रीको चेतावनी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने स्पष्ट पारे।

कर्मचारीहरूले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने धम्की दिएपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै पनि गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिए।

कर्मचारीका केही समस्या भए छलफलबाट समाधान गर्न आफू तयार रहेको बताएका पर्यटन मन्त्री भट्टराईले आन्दोलन गरेर अवरोध गर्न खोजे कारबाही गरिने चेतावनी दिएका हुन्।

कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्नेगरी विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए।

अघिल्लो साउनमा मन्त्रीपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो।

योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी ऐन आउने भएको हो । अध्यक्ष यादवले सरकारले प्राधिकरणलाई टुक्रा-टुक्रा पार्न लागेको भन्दै आन्दोनलको घोषणा गरिसकेको बताएका थिए। विधेयकको विरोधमा आधिकारीक ट्रेड युनियनले २९ मंसीरमा नै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

युनियनले १६ देखि १८ पुससम्म कालो पट्टी बाँधेर काम गर्ने, २० देखि २२ पुससम्म पेन डाउन गर्ने तथा २३ देखि २५ पुससम्म महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम गर्दैछ।

प्रतिक्रिया दिनुहोस्