बैंक ह्याकिङका एजेन्ट स्याङ्जाबाट पक्राउ
काठमाडाैं। कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेन्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

सोही घटनामा संलग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौं ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए। उनको बैंक खातामा ६५ लाख जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन्।

यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेन्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनीहरूले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख निकालेका थिए।

त्यसमध्ये १० लाख हुण्डीमार्फत् विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ। प्रहरीले ६० लाख बरामद गरिसकेको छ। यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेका थिए। उनले पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्