अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई

पाँचथर। अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक/साहित्यकारद्वय वीर नेम्वाङ र प्रा.डा.गोविन्दराज भट्टराई पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गरेका हुन् ।

पुरस्कारको राशि जनही ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।

सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै उनले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताए ।

पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय छन् भने प्रा.डा.भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त भएका हुन् ।

सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

प्रा.डा.भट्टराईले स्व.अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको बताए । उनले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानका धर्मेन्द्र नेम्वाङका अनुसार स्व.नेम्वाङको स्मृति दिवसका अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्य गर्न थालिएको हो ।

गत वर्षदेखि उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गरेका थिए ।

उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागी प्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही १२ हजार पाँच सय राहत उपलब्ध गराइएको छ ।

यस्तै बाबुआमाबिहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनरत छ वर्षीय ग्राविल नेम्वाङको पठनपाठनमा सहयोग गर्न १० हजारको छात्रवृत्तिसमेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठवटै स्थानीय तहलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति स्व.नेम्वाङ जीवनभर समाज सेवामा समर्पित भएका थिए । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

विसं २०७५ माघ २६ गते गाउँपालिकाको वडा नं ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढलेका नेम्वाङको अस्पताल लैजादै गर्दा बाटोमा नै निधन भएको थियो । उनका तीन साहित्यिक कृति प्रकाशित छन् । रासस

प्रतिक्रिया दिनुहोस्