छ बिघामा लगाइएको गाँजाखेती फँडानी गरी नष्ट

हेटाैँडा। मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्‍न स्थानमा करिब छ बिघामा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ।

कोगोपिराङ, बेडीघारी, सल्लनीलगायतका विभिन्‍न स्थानमा गरी कूल छ बिघा क्षेत्रफलमा लगाएको गाँजाखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दङ्‍गा नियन्त्रण प्रहरी गणबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजाखेती फँडानी गरी नष्ट गरेको हो।

यसैबीच प्रहरीले चार वर्षदेखि जबर्जस्ती करणी मुद्दामा फरार एक जनालाई पक्राउ गरी जिल्ला अदालतमा पठाएको छ। जबर्जस्ती करणी मुद्दामा तीन वर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेका मनहरी गाउँपालिका-२ का ३४ वर्षीय जीवन स्याङ्बोलाई हेटाैंडा उपमहानगरपालिका-१० बाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत ले २०७३ जेठ २६ मा गरेको फैसलाअनुसार सजाय तोकी फरार रहेका स्याङ्बोलाई प्रहरीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा पठाएको हो। रासस

प्रतिक्रिया दिनुहोस्