जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड
<p>झापा। जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ । भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता अद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउन कामले भीड बढेको हो । </p>
<p>दैनिक ७०० देखि ८०० जनालाई नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता वितरण भइरहेका कारण भीडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शाहीले बताए। उनका अनुसार वंशजका आधारमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा ६ हजार ३३७ जनाले नयाँ नागरिकता, वैवाहिक अङ्गीकृत लिने ५१ र प्रतिलिपि लिनेमा ४ हजार ६६२ जना रहेका छन् । </p>
<p>“परिचयपत्रका लागि नागरिकता अनिवार्य छ”, सहायक प्रजिअ शाहीले भन्छन्, “तीन महिनासम्म कोडिभ–१९ का कारण प्रतिलिपि र नयाँ नागरिकता वितरण गर्न सकिएन । जसको असर अहिले परेको छ । सकेसम्म व्यवस्थित र चाँडो दिने वातावरण बनाउन पहल गरिरहेका छौँ।” <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
