डब्ल्यूएचओ टोली वुहान पुग्यो, खुल्ला त रहस्य ?

काठमाडौं। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को टोली चीनको वुहान सहर पुगेको छ। यो टोली कोभिड–१९ कसरी सुरु भयो भन्ने जाँच गर्न त्यहाँ गएको हो। डब्ल्यूएचओ र चीनबीच लामो समय कुराकानी गरेपछि चीन जाँच गर्न दिन तयार भएको हो।

टोलीमा १० जना वैज्ञानिक छन्, तिनले रिसर्च इन्स्टिच्युट, अस्पताल तथा सिफुड मार्केटका मानिससँग कुराकानी गर्ने छन्। २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक कोरोना संक्रमण देखापरेको थियो।

बिहीबार डब्ल्यूएचओ टोली वुहान पुग्दा त्यहाँको अवस्था सामान्य बनिसकेको थियो। तर, उत्तरी चीनमा भने कोरोनाको नयाँ संक्रमित भेटिएका छन्।

आफ्नो जाँचपड्ताल सुरु गर्नुअघि टोली दुई साता क्वारेन्टिनमा बस्नेछ। र, टोलीले चिनियाँ अधिकारीहरुबाट प्राप्त स्याम्पल तथा प्रमाणमाथि भरोस गर्नेछ।

कुन जनावरबाट कोरोना सुरु भयो भन्नेबारे पनि जाँच गरिने छ। चीनले लामो समयदेखि आफ्नो देशबाट कोरोना सुरु नभएको जिकिर गर्दै आएको छ।

डब्ल्यूएचओका वैश्विक संक्रमण तथा प्रतिक्रिया युनिटका अध्यक्ष प्रा. डेल फिसरले बीबीसीसँग भने, ‘‘मलाई विश्वास छ, यसलाई चीनले एक वैज्ञानिक टोलीको भ्रमणका रुपमा लिनेछ।’’

यो कुनै राजनीतिक आरोप-प्रत्यारोपको विषय नभएको उनले स्पष्ट पारे। ‘‘यो एउटा वैज्ञानिक सवाल हो,’’ उनले भने, ‘‘अधिकांश वैज्ञानिक मान्छन् कि, भाइरस प्राकृतिक रुपमा आएको हो।’’ संक्रमण फैलन सुरु भएको समयमा यसको उत्पत्ति वुहानको मासुबजारमा भएको मानिएको थियो।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्