छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

दोलखा, मोरङ, बर्दिया, बारा, कपिलवस्तु, डोटी र बाग्लुङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

दोलखाको बैतेश्वर गाउँपालिका-३ जयनालुमा बा. १५ च. ७८०५ नम्बरको बोलेरोको ठक्करबाट मंगलबार एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय जयबहादुर तामाङका ६ वर्षीय छोरा संगम तामाङ रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका संगमको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-७ जदाहा मोडमा को.२ त. ६९९७ नम्बरको ट्याक्टरले को.१७ प. ४८४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय ३० वर्षे रोशन गुरुङको मोरङ अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकलमा पछाडि बसेर यात्रा गरिरहेका ३२ वर्षे राजकुमार तामाङ गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बर्दियाको गुलरिया नगरपालिका-५ मा भे.१ त. ५९७३ नम्बरको ट्याक्टरले भे.१ ह. ५५७२ नम्बरको अटोलाई मंगलबार साँझ ठक्कर दिँदा अटोमा सवार स्थानीय ४५ वर्षे डगिराम थारुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको थियो। सोही दुर्घटनामा घाइते भएका अन्य ३ मध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी बाराको माहागढीमाई नगरपालिका-२ भुतही पुलमा ना.२ त. १२५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ट्याक्टर चालक रौतहट कटहरिया नगरपालिका-९ बस्ने २५ वर्षीय शुकदेव पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ वसन्तपुरमा लु. १० प. ७४३९ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका-२ गोरुसिंगे थारुगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र थारु र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम थारु रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको जिल्ला अस्पताल तौलिहवामा र टिकारामको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो।

यसैगरी डोटीको शिखर नगरपालिका-८ खुनमा प्रदेश २-०३-००१ स ५४०२ नम्बरको अटो मंगलबार सडकबाट करिब ८० मिटर तल सेती नदीमा खस्दा एक यात्रीको मृत्यु भएको छ।

अटोमा सवार सोही नगरपालिका-३ आली बस्ने ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अटोका चालक सोही नगरपालिका-३ बस्ने ४० वर्षीय लोक जोरा समेत ५ जनाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोमा ३ जनालाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ।

त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका-३ बोक्से खाल्डोमा ध. १ त. ४७१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक म्याग्दी धवलागिरी गाउँपालिका–७ मुनाका २९ वर्षीय केशबहादुर पुन रहेका छन्। मगरको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्