विगर मुसलमान, चीन र मानवीय हक
काठमाडौं। तीन वर्षसम्म जारी एक अभियानले अस्ट्रेलियाका एक विगरलाई आफ्नो परिवारसँग मिलन गराइदिएको छ। उनलाई चीनको सियानजियाङबाट मुक्त गराइएको हो।
बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि विशेष दिन रह्यो। तीन वर्षपछि उनले आफ्नी पत्नी नादिला वुमाएर र तीन वर्षको बच्चा लुत्फीसँग सिड्नीमा भेट गर्न पाए।
कूटनीतिक सम्झौतापश्चात् सद्दामका परिवारलाई चीन छाड्ने अनुमति दिइएको थियो। वुमाएर पनि चीनको अल्पसंख्यक ‘विगर मुसलमान’ समुदायकी हुन्। उनका अनुसार यसअघि उनी घरमै नजरबन्द थिइन्।
शुक्रबार सिड्नी विमानस्थलमा जब तीन वर्षपछि उक्त परिवारको पुनर्मिलन भयो, तब सबैजना एकछिन निकै भावुक भए। उनीहरुले त्यो क्षणलाई क्यामरामा कैद गरे र जीवनको सुनौलो पललाई सदाका निम्ति सुरक्षा गरे। उनीहरूको पुत्रको जन्म २०१७ मा भएको थियो। सद्दामले आफ्नो खुसी प्रकट गर्दै ट्विटरमा लेखे- ‘धन्यवाद अस्ट्रेलिया। सबैलाई धन्यवाद।’
तीन वर्ष विछोडको कथा
सद्दाम विगत एक दशकदेखि अस्ट्रेलियामा बस्दै आएका थिए। २०१६ मा आफ्नी प्रेमिका वुमाएरसँग बिहा गर्न उनी चीन गएका थिए। २०१७ मा कामको सिलसिलामा पुनः अस्ट्रेलिया फर्के। तर, उनकी पत्नी आफ्नो भिसा (स्पाउस भिसा)का लागि चीनमै रोकिइन्।
त्यही वर्ष पुत्रको जन्म भयो, तर चीन सरकारले सद्दामलाई भिसा दिएन। पुत्रको जन्म भएको केही समयपछि वुमाएरलाई हिरासतमा राखियो। दुई सातापछि उनलाई रिहा त गरियो, तर उनको पासपोर्ट जफत गरियो। र, उनलाई घरमै नजरबन्द गरियो।
उनलाई घरबाट निस्कने अनुमति थिएन। पछिल्ला दुई वर्षमा अस्ट्रेलिया सरकारले चीनसँग सद्दाम र उनी पत्नी तथा पुत्रलाई रिहा गर्न थुप्रै पटक अनुरोध ग¥यो। तर, त्यसको कुनै परिणामा आएन।
सद्दाम अस्ट्रेलियाली नागरिक हुन्, उनकी पत्नीलाई अस्ट्रेलियाको नागरिकता दिइएको छैन। तर सद्दामले अपिल गरेपछि उनीहरुका पुत्रलाई भने अस्ट्रेलियाको नागरिकता दिइएको छ।
चिनियाँ अधिकारीले यसै वर्षको फेबु्रअरीमा सद्दाम र वुमाएरको विवाह चीनको कानुनी हिसाबमा अमान्य छ। वुमाएरले चीनमै बस्ने इच्छा गरेकी छन्। जब चीनका एक अधिकारीले यो कुरा अस्ट्रेलियाको टेलिभिजनमा बताइन्, तब सद्दामले आफ्नी पत्नी र बच्चाको तस्बिर ट्विट गरे। तस्बिरमा वुमाएरको हातमा देखिएको कागजमा लेखिएको छ– ‘म यहाँबाट जान चाहन्छु र आफ्नो पतिसँग बस्न चाहन्छु।’
शुक्रबार संघाई, हङकङ, ब्रिस्बेन हुँदै ४८ घण्टाको यात्रापछि सिड्नी पुगेलगत्तै सद्दामले अस्ट्रेलियाको विदेश विभागलाई धन्यवाद दिए र आफ्नो वकिलका साथै मिडियाप्रति आभार प्रकट गरे। उनले भने, ‘‘यो दिन आउला र हामी सबै एकै ठाउँमा भइएला भनेर मैले कहिल्यै सोचेको पनि थिइनँ। मेरो सपना छ, हरेक विगर आफ्नो परिवारसँग भेट्न पाउन्।’’
चीनमाथि आरोप
मानवअधिकारवादी समूहहरुले चीनमा लगभग १० लाख विगर तथा अन्य मुसलमानलाई बन्दीगृहमा कैदी बनाएर राखिएको आरोप लगाएका छन्। चीनले यो आरोपको खण्डन गर्दै विगरले शिविरमा बसेर अन्य मानिसलाई चरमपन्थ तथा धार्मिक कट्टरतासँग लडाइरहेको बताएको छ।
यसै वर्ष अक्टोबरमा अस्ट्रेलिया, अमेरिका तथा कयौं युरोपियन मुलुकसमेत ३९ देशको समूहले संयुक्त राष्ट्र संघमा चीनको सियानजियाङको मानवअधिकारप्रति गम्भीर चिन्ता प्रकट गरेका थिए। उनीहरुले सियानजियाङमा विगर मुसलमानको धार्मिक स्वतन्त्रता, तिनको आवतजावत तथा सांस्कृतिक अभिव्यक्तिमाथि कडा प्रतिबन्ध लगाइको बताएका थिए।
(बीबीसी)
प्रतिक्रिया दिनुहोस्