चार वर्ष कुर्नुस्, म फेरि आउनेछु – ट्रम्प

काठमाडौं। अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा हार व्यहोरेका डोनाल्ड ट्रम्पले आफ्ना समर्थकमाझ २०२४ मा आफू पुनःचुनाव लड्ने बताएका छन्।

ह्वाइट हाउसमा भेला भएको भीडमाझ उनले भने, ‘‘मैले अद्भूत चार वर्ष बिताएँ। मैले थप चार वर्ष काम गर्ने विचार गरेको हो। अन्यथा, अब पुनः चार वर्षपछि तपाईंहरूसँग हुनेछु।’’

उनले ह्वाइट हाउसमा आफ्नो राजनीतिक इच्छा प्रकट गरिरहँदा रिपब्लिकन नेसनल कमिटीका सदस्य पनि सहभागी थिए। भीड मास्कबिनै त्यहाँ जम्मा भएको थियो।

ट्रम्पको यो टिप्पणीले उनले निर्वाचनमा हारेको स्वीकार गरेको देखाउँछ। यसले उनी २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः होमिन चाहेको स्पष्ट पनि पार्छ। उनलाई पद छाड्न पर्नुका पीडा पनि छ र पुनःनिर्वाचनमा लड्ने लोभ पनि छ।

ह्वाइट हाउसमा सम्पन्न जमघटको पामपोलार्डले फेसबुकमा लाइभस्ट्रिम गरेका थिए। उनी ओक्लोहामा जीओपीका नेसनल कमिटी सदस्य हुन्। भिडियो फुटेजमा ह्वाउट हाउसको क्रसहलमा दर्जनौं मानिस एकैसाथ उभिएको देखिएको थियो। तीमध्ये अधिकांशले मास्क लगाएका थिएनन्। तिनले खोकेको पनि सुनिएको थियो।

ट्रम्पले यो साताको छुट्टिमा रिसेप्सन दिएका हुन्। उनले जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि अन्तिम सिजनमा पार्टी दिने इच्छा देखाएका थिए। त्यसो त उनले अहिलेसम्म पनि आफ्नो हार औपचारिक रुपमा स्वीकारिसकेका छैनन्, तर विजेता जो बाइडेनलाई पदभार ग्रहणको तयारी गर्न भने संकेत दिएका छन्।

दि एसोसिएटेड प्रेसले गरेकोे समीक्षा (सोसल मिडिया पोस्टिङ) अनुसार ह्वाइट हाउसमा उपस्थित भीड मास्करहित थियो। तिनले जनस्वास्थ्यमाथि खेलबाड गरिरहेका थिए। अमेरिकामा कोरोना संक्रमितको संख्या अकास्सिएको छ।

ह्वाइट हाउस संक्रमण फैलाउने एउटा संदिग्ध स्थल हो। राष्ट्रपतिका दर्जनौं सहयोगी, शुभेच्छुक, कर्मचारीलगायतमा कोरोना पोजिटिभ देखिइसकेको छ। ट्रम्प स्वयम् नै अक्टोबर महिनामा संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए। फस्र्ट लेडी तथा उनका दुई छोरालाई समेत संक्रमण भइसकेको छ, अन्य कतिपय पोजिटिभ देखिएका थिए र क्वारेन्टिनमा बसेका थिए।

फस्र्ट लेडीकी प्रवक्ता तथा वरिष्ठ कर्मचारी स्टेफनी ग्रिसमले गत महिना ह्वाइट हाउसमा भनेकी थिइन्, ‘‘ह्वाइट हाउसमा सकेसम्म सुरक्षित वातावरण प्रदान गरिनेछ। थोरै अतिथि हुनेछन्। मास्क र स्यानिटाइजर उपलब्ध हुनेछ। ह्वाइट हाउसको चौरमा सोसल डिस्टान्सिङ कायम गरिनेछ।’’

उनले ह्वाइट हाउसको पार्टीमा सहभागी हुने वा नहुने भन्ने कुरा अतिथि स्वयम्को निर्णयमा भर पर्ने समेत बताएकी थिइन्।

भिडियोमा देखिएको पार्टीमा भएका कुराकानीमध्ये २०२४ मा ट्रम्प पुनःनिर्वाचन लड्ने प्रमुख थियो। नेसनल डिफेन्स अथोराइजेसन एक्टलाई खारेज गर्ने सन्र्दभसमेत जोडिएको थियो। ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालको सुरक्षा गर्ने संघीय कानुन समाप्त गर्ने धम्कीका कुरा पनि भएका थिए।

खतरनाक र काम नलाग्ने सेक्सन २३० (सुरक्षासम्बन्धी कानुन रहेको धारा) पूर्णतः खारेज भएन भने भिटो लगाएर विधेयक ल्याउन सकिने राष्ट्रपति ट्रम्पले मंगलबार राति ट्विटमा उल्लेख गरेका थिए।

ट्रम्प तथा रिपब्लिकन सदस्यले सूचनासम्बन्धी हकको कानुनको सेक्सन २३० माथि आपत्ति जनाउँदै आएका छन्। तिनले सामाजिक सञ्जालमा पोस्ट गरिएका कतिपय टिप्पणीको पनि विरोध गर्दै आएका छन्।

डेमोक्रेटहरू भने २३० धारा रद्द गर्ने विषयमा असहमत छन्। २४ वर्ष पुरानो यो कानुनले सोसल मिडिया कम्पनीलाई महत्त्वपूर्ण सुरक्षा प्रदान गर्दै आएको छ। ट्रम्प यो कानुनलाई रद्द गर्न चाहन्छन्।

दि गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्