मर्यादित महिनावारी दिवस कि महिनावारी बार्ने प्रचलनकै अन्त्य?
काठमाडौं। हरेक वर्ष २८ मे मा विश्वभर ‘महिनावारी सरसफाइ’ दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यो दिवस नेपालको अनुरोधमा यो वर्षदेखि ८ डिसेम्बरमा मनाइनेछ, ‘मर्यादित महिनावारी दिवस’का रूपमा।

कतिपयलाई लाग्न सक्छ, वर्षमा दुई दिन किन महिनावारी दिवस? तर, यसको सन्दर्भ नै फरक छ।

२८ मेमा मनाइने महिनावारी सरसफाइ दिवस र ८ डिसेम्बरमा मनाउन लागिएको मर्यादित महिनावारी दिवस नितान्त फरक छन्।

राधा पौडेल फाउन्डेसनको पहलमा संसारभर पहिलोपटक मनाउन लागिएको ‘मर्यादित महिनावारी दिवस’ सरसफाइभन्दा पनि अधिकारमा केन्द्रित छ।

महिनावारी बार्ने प्रचलनले महिलालाई थप पीडित बनाइरहेको तथा पुरुषलाई बलात्कारीको रूपमा देखाइरहेकाले त्यसको अन्त्यका लागि यो दिवस मनाउन लागिएको फाउण्डेसनकी निर्देशक राधा पौडेल बताउँछिन्।

“महिनावारी बार्ने प्रचलनले महिलालाई अझै कमजोर बनाइरहेको छ, यसको अन्त्य नहुँदासम्म महिला र पुरुष समान हुन सक्दैनन्”, पौडेल भन्छिन्।

८ डिसेम्बरमा मनाइने दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ राखिएको छ।

सन् २०१४ देखि हरेक वर्ष २८ मेमा मनाउन थालिएको ‘महिनावारी सरसफाइ’ दिवसमा भने महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिबाट हेर्ने गरिएको छ।

महिनावारीका बेला सरसफाइमा कसरी ध्यान दिने? स्वस्थ रहनलाई के-के गर्ने? आदि विषय नै यो दिवसमा प्रमुख रूपमा उठाइन्छन्।

पहिलो पटक मनाउन लागिएको मर्यादित महिनावारी दिवस अन्तर्गत यसपालि दैलेख, बारा, सोलुखुम्बु, काठमाडौं, ललितपुर र चिवतनमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।

कार्यक्रमअन्तर्गत महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाउने, श्रीमान–श्रीमतीदेखि घरपरिवारका सदस्यहरूसँग यसबारे छलफल गर्ने फाउन्डेसनले जनाएको छ।

फाउण्डेसनको पहलमा इण्डोनेसिया, युगान्डा र अष्ट्रियामा मर्यादित महिनावारी दिवस मनाउन शुरू भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्