वन रक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सैनामैना सवडिभिजन वन कार्यालय रूपन्देहीमा वन रक्षक पदमा कार्यरत प्रेमचन्द्र विश्वकर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विश्वकर्माले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।

विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

यसैक्रममा बुटवलस्थित अख्तियारबाट खटिएको टोलीले केही दिनअघि उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिई थप अनुसन्धान हुँदा उनले घुस लिएको पुष्टि भएपछि आज मुद्दा दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दायर गरिएको मुद्दामा उनीसँग १२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्