बुबाले प्रहरीमा पुर्याएपछि हत्यामा संलग्न पक्राउ

काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–१४ को सुगम बस्तीकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोलीले गएराति बालिकाको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो।

उनी गौशाला नगरपालिका–५ जिरो माइलका हुन्।

प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ।

बालिकाको मृत्युपछि शव आफू सुत्ने कोठामा लगेर राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुलेको छ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार घटनापछि अरूणले गौशाला नगरपालिका–५ स्थित घरमा गइ घर परिवारलाई घटनाबारे जानकारी गराएको पाइएको छ।

उनलाई बुबाले इलाका प्रहरी कार्यालय गौशालामा पुर्‍याएपछि प्रहरीले पक्राउ गरेको हो।

घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घरमा आगजनी गरेका छन्। साथै, बर्दिबास नगरपालिका–१४ स्थित चोकमा सडक अवरोध गरेका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्