मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते

काठमाडौं। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ जयचोकमा हिजो बेलुकी बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका–९ का ३२ वर्षीय मुकेश प्रसाद पौडेलको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को १ ख ६८३१ नम्बरको बस हिजो बेलुकी पौने ७ बजे आपसमा ठोकिएका थिए। बस चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

यस्तै, मोरङकै बेलबारी नगरपालिका–४ मा हिजो साँझ दुईओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गमा हिजो साँझ साढे ५ बजे प्रदेश १ ०२, ०४२ प ४२१६ र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका ३८०१ नम्बरको मोटरसाइकल चालक ३७ वर्षीय नबिन पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्