बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतकहरूको सनाखत हुन बाँकी छ। मृतकमध्ये सातजना पुरुष र दुईजना महिला छन्।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ। बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए।

मृतकमध्ये आठजनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ।

प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरूको उद्धार गरिएको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिए।

दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ।

बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ। साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्