कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन
काठमाडौं। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ। विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ।

रजिष्ट्रारका लागि प्रा डा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी,  प्रा डा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल,  प्राडा बलरामकुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेशकुमार सिंह, प्राडा मोहन शर्मा, प्राडा शारदा थपलिया र प्रा श्यामशङ्कर झाको आवेदन परेको उनले जानकारी दिए।

कृषि सङ्कायका डिनका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा अरविन्द श्रीवास्तव, प्रा डा कल्याणी मिश्र त्रिपाठी, प्रा जयप्रकाश दत्त, प्रा विष्णुराज ओझा, डा शिवचन्द्र ढकाल र डा सन्तोष मरहट्ठाको आवेदन परेको छ।

पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्राडा पुष्करबहादुर पाल, प्राडा भूमिनन्द देवकोटा, डा मनोजकुमार शाह, प्रा मातृकाप्रसाद जमरकट्टेल, प्रा मुकेशकुमार सिंह, प्रा डा सुनिला राई, डा सुवीर सिंह र प्रा डा होमबहादुर बस्नेतको आवेदन परेको छ।

उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिए। समितिले पाँच दिनभित्र आवेदकमध्येबाट तीन जनालाई छनोट गर्नेछ। उनीहरुमध्येबाट एक जनालाई रिक्त रजिष्ट्रारमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए।

डिनको नियुक्ति भने कार्यकारी परिषद्बाट हुनेछ । सबै काम यथाशीघ्र सम्पन्न गरी आगामी मङ्सिर १५ भित्र विश्वविद्यालय सभा (सिनेट) बस्ने तयारी गरिएको उनले जानकारी दिए। सिनेटमा विश्वविद्यालयका सदस्यसचिव एवं रजिष्ट्रारले वार्षिक बजेट पेश गर्नुपर्ने हुन्छ।

गत वर्षको भदौदेखि विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेको थियो। सरकारले गत असोज ९ गते प्रा डा रेग्मीलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो। गत माघ १२ देखि रजिष्ट्रार र गत जेठ १ देखि दुई सङ्कायका डिन रिक्त छ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पनि रिक्त छ। गएको एक वर्षभन्दा बढी समय निमित्तको भरमा विश्वविद्यालय चल्दा विश्वविद्यालय अस्तव्यस्त अवस्थामा पुगेको छ।

सरकारले २०६७ असारमा कृषिको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विश्वविद्यालय स्थापना गरेको हो।

रासस

प्रतिक्रिया दिनुहोस्