‘ग्लोबल हङ्गर इण्डेक्स’ मा नेपाल ७३औं स्थानमा, दक्षिण एसियामा श्रीलंकापछि दोस्रो स्थानमा

काठमाडौं। ग्लोबल हङ्गर इण्डेक्स (विश्व भोकमरी सूचकांक), २०२० मा नेपाल ७३औं स्थानमा परेको छ। विश्वका १०७ देश समेटिएको उक्त सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बैगलादेश र अफगानिस्तानभन्दा अघि रहेको छ।

गत वर्ष पनि नेपाल उक्त सूचीको ७३औं स्थानमा रहेको थियो। यस वर्षको सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा श्रीलंकाभन्दा मात्र पछि रहेको छ। सूचीमा दुई दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्स समेटिएका छैनन्। भुटान र माल्दिभ्सबाट आवश्यक तथ्याङ्क प्राप्त नभएका कारण नसमेटिएको ग्लोबल हङ्गर इन्डेक्स (जीएच्आई)ले प्रतिवेदनमा उल्लेख गरेको छ।

सूचीको पहिलो नम्बरमा बेलारुस रहेको छ। छिमेकी चीन पाँचै नम्बरमा रहेको छ। सूचीमा दक्षिण एसियाली राष्ट्रहरु श्रीलंका ६४, नेपाल ७३, भारत ९४, बंगलादेश ७५, पाकिस्तान ८८ र अफगानिस्तान ९९ स्थानमा रहेका छन्।

अध्ययनमा विश्वका १३२ देशलाई समेटिएको थियो। ती देशमध्ये २५ देशबाट आवश्यक तथ्याङ्क प्राप्त नभएपछि १०७ देशको सूची जीएच्आईले हालै सार्वजनिक गरेको हो।

कुपोषण, पाँच वर्ष मूनीका बालबालिकाको मृत्युदर, बालबालिकाको उचाईको तुलनामा तौल र उमेर अनुसारको उचाईलाई सूची तयार पार्दा अध्ययनको मुख्य आधार बनाइएको थियो।

ग्लोबल हङ्गर इण्डेक्स, २०२० मा नेपालले १९.५ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपालले २०.८ अंक प्राप्त गरेको थियो। यो सूचीम जति कम नम्बर ल्यायो अवस्था त्यति सुध्रिएको मानिन्छ।

सन् २००० मा नेपालले ३७.४, सन् २००६ मा ३१ र सन् २०१२ मा २२.८ अंक ल्याएको थियो। नेपालले ग्लोबल हङ्गर सूचीम आफ्नो अवस्था प्रत्येक वर्ष सुधार्दै आएको छ।

सूचीको अन्त अर्थात १०७ नम्बरमा रहेको चाडले ४४.७७ अंक प्राप्त गरेको छ।

सूचीमा रहेका १०७ देशलाई जीएच्आईले चार समूहमा वर्गीकरण गरेको छ– खतरनाक, गम्भिर, मध्यम र न्यून। ९.९ अंक ल्याउनेलाई न्यून समूहमा राखिएको छ, जहाँ भोकमरीको समस्या सबैभन्दा कम रहेको छ।

१० देखि १९.९ अंक ल्याउनेलाई मध्यम समूहमा राखिएको छ। यो समूहमा नेपाल रहेको छ। यो समूहमा रहेका देशमा भोकमरीको समस्या ठूलो छैन। २० देखि ३४.९ अंक ल्याउनेलाई गम्भिर समूहमा राखिएको छ, जहाँ छिमेकी भारत पनि रहेको छ। यो समूहका देशमा भोकमरीको समस्या गम्भिर रहेको छ।

३५ देखि ४९.९ अंक ल्याउने देशहरुलाई खतरनाक समूहमा राखिएको छ। यो समूहमा पर्ने देशहरुमा भोकमरीको समस्या विकराल छ।

प्रतिक्रिया दिनुहोस्