अधिवक्ता शाहको ‘चौकीदारदेखि वकिलसम्म’ सार्वजनिक

नेपालगञ्ज। अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ बिहीबार नेपालगञ्जमा सार्वजनिक भएको छ।

क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश पवनकुमार शर्माले पुस्तक सार्वजनिक गरेका हुन्। न्यायाधीस शर्माले पुस्तकमा तत्कालीन सामाजिक परिवेश र भोगाइहरू समेटिएको चर्चा गर्दै यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने बताए।

नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ र शिक्षाकर्मी शशी स्वाँरले पुस्तकमाथि टिप्पणी गरे। टिप्पणीकार अधिवक्ता श्रेष्ठले शाहको सुरूआती संघर्ष र सफलता हरेक युवा पेसाकर्मीका लागि प्रेरणा हुने बताए। क्रियटिभ बुक्सले सही पात्र चयन गरेको बताउँदै अधिवक्ता श्रेष्ठले आगामी दिनमा शाहको थप कृति आउनेमा आशावादी रहेको चर्चा गरे।

शिक्षाकर्मी स्वाँरले अछाम तथा सुदूरपश्चिमको तत्कालीन अवस्थाको पुस्तकमा चित्रण गरिएकाले अध्यताका लागि कामकाजी हुने बताए। पुस्तक हरेक पेसा र व्यवसायमा रहेका व्यक्तिहरूका लागि प्रेरणादायी हुने स्वाँरको भनाइ थियो।

क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले हरेक मानिसका आ–आफ्ना कथा र भोगाइ हुने भएकाले त्यसलाई पुस्तकमा लिपीबद्ध गर्दा नयाँ पुस्तालाई त्यसले प्रेरणा दिने बताए। समाजका हरेक व्यक्तिले आफ्नो संघर्ष, भोगाइ र सफलता समेटेर पुस्तकार दिनुपर्नेमा अध्यक्ष ठकुरीले जोड दिए।

अधिवक्ता शाहले लकडाउनको समयमा आफ्ना विगतका कुराहरू श्रीमतीलाई सुनाउँदा त्यसलाई पुस्तकका रूपमा उतार्दा नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्न सक्ने सल्लाह पाएपछि आफूले पुस्तक तयारी गरेको बताए। पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्