एक किलो अवैध सुनसहित तीनजना पक्राउ

दाङ। दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीनजनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका-९, अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा उक्त सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

कारमा सवार दाङ घोराही नगरपालिका-१४ का सम्मानकुमार श्रेष्ठले जुत्तामा लुकाएकाे ५/५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए।

श्रेष्ठको साथबाट २ तोला ३.०६ आनाको सुनको सिक्री र नगद ६० हजार रूपैयाँसमेत बरामद भएको उनले बताए।

त्यस्तै गाडी चालक दाङ घोराही नगरपालिका-१५ का सुवास श्रेष्ठको साथबाट नगद १२ हजार २५० र सोही गाडीमा सवार अर्का अपूर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदी सिक्री र नगद एक हजार १२० रूपैयाँ बरामद भएको प्रवक्ता खड्काले जानकारी दिए।

पक्राउ परेकाहरु बारे थपअनुसन्धान भइरहेको प्रबक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्