चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

काठमाडाैं। चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए।

उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्ने तथा कानुन विपरीतका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ।

यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए।

प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ। सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न सुरुआतसमेत गरिएको छ।

सोही अभियानअन्तर्गत केही दिन अघि प्रहरीले मिति सकिएको चार करोड रूपैयाँ बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री गर्न खोज्ने सातजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्