चाडबाडलक्षित विशेष सुरक्षा योजना बनाउँदै प्रहरी

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको महान् चाडहरू दसैं–तिहार नजिकिँदै जाँदा ‘विशेष सुरक्षा योजना’ बनाउन नेपाल प्रहरी जुटेको छ। दसैं आउन दुई साताजसो बाँकी हुँदा सम्भावित सुरक्षा चुनौतीहरूका आधारमा प्रहरी सुरक्षा योजना बनाउन जुटेको हो।

हरेक वर्ष प्रहरीको जिल्ला, प्रदेश र महानगरले दसैं–तिहार लक्षित छुट्टाछुट्टै सुरक्षा योजना बनाउन गर्दछ। तर, यस वर्षको सुरक्षा योजनामा भने कोभिड–१९ को प्रभाव पर्ने देखिन्छ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले सुरक्षा योजनामा कोभिड–१९ को प्रभाव पर्ने बताए।

“पोहोर कोभिड–१९ को संक्रमण थिएन, सम्भावित सुरक्षा चुनौतिका आधारमा सुरक्षा योजना बनाइयो तर, यसवर्ष त्यस्तो हुँदैन”, उनले देखापढीसँग भने, “सुरक्षा योजनामा अपराध न्यूनीकरण गर्न चाल्नु पर्ने कदमजस्ता योजना त हुन्छ नै, यसका अतिरिक्त भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्न लगाउने लगायतका योजना पनि थपिन्छ।”

सुरक्षा योजनाका लागि प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभागले प्रहरीको जिल्ला, प्रदेश र महानगरलाई परिपत्र गर्न बाँकी छ। आगामी सातासम्ममा परिपत्र गर्ने विभागको तयारी छ।

चाडबाडका बेला चोरी, तस्करी, लुटपाट, कालोबजारी, पाकेटमारी, जुवातास, ठगीसँगै हत्यासम्मका अपराध अरू बेला भन्दा बढी हुने गर्दछ। जसलाई न्यूनीकरण गर्नु प्रहरीको दायित्व हो। र, सोही अनुसारको सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ।

यसले गर्दा हरेक वर्ष प्रहरीले चाडबाडको बेला अरूबेलाभन्दा बढी गस्ती, पेट्रोलिङ जस्ता गतिविधि गर्दै आएका छन्। सादा पोशाकका प्रहरीलाई व्यापक रूपमा खटाइने पनि गरिन्छ। जो सुरक्षा योजनाअन्तर्गत हुन्छ।

“काठमाडौं उपत्यकामा चोरी र लुटपाटका घटना बढी हुन सक्ने अवस्था हुन्छ, तराईको सीमा नाकाबाट पटकाजस्ता विस्फोटक पदार्थ आयात हुन्छ र मापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना चाडबाडका बेला बढी हुन्छ,” प्रहरी प्रवक्ता कडायतले भने, “ठाउँ र परिस्थिति अनुसार सुरक्षा योजना भिन्न बन्ने हुन्छ।”

चाडबाडका बेला मादक पदार्थ सेवन गरेर झै–झगडा गर्नेदेखि कुटपिटका घटना पनि बढी हुने गर्दछ। यससँगै सवारी दुर्घटना अरू बेलाभन्दा बढी हुने गरेको छ।

ट्राफिक नियम उल्लङ्घनका घटना वृद्धि हुने गरेको छ। यसले गर्दा ट्राफिक प्रहरीले पनि सोही अनुसारको योजना बनाउने गर्दछ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले असोज २० गते मानिसहरूको चहलपहल बढी हुने रत्न पार्कमा रहेको बसपार्क, कलङ्की लगायत करिब १० स्थानमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको बताए।

उनका अनुसार यात्रुहरू ठगिन सक्ने भन्दै सहायता कक्ष स्थापना गर्न लागिएको हो। यससँगै केही दिनदेखि नै ट्राफिक प्रहरी व्यापक रूपमा परिचालन भएको र चेकजाँचलाई व्यापक बनाइएको बताए।

“हामीले चाडबाडलाई लक्षित गरेर ट्राफिक प्रहरीलाई व्यापक रुपमा परिचालन गरिसकेका छौं र चेकजाँचलाई पनि व्यापक बनाएका छौं,” उनले भने, “मंगलबार मात्रै एक हजार ६४७ वटा मोटरसाइकल र ३७० वटा चार पाङ्ग्रे सवारीलाई कारबाही स्वरुप होल्ड गरायौं।”

कोरोना संक्रमणका महामारी छँदा पनि दैनिक काठमाडौं उपत्यकामा औषत २० हजारजना मानिसको आउजाउ हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ।

यसले गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागु गरेको स्वास्थ्य मापदण्डलाई पालना सवारी साधनमा चालक, सहचालक र यात्रुहरूलाई अनिवार्य गराइएको प्रक्वता यादवले बताए।

प्रतिक्रिया दिनुहोस्