हिरासतमा मृत्युको घटनाबारे छानबिन गर्न संसदीय टोली धनुषामा
जनकपुर। धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल सुरु गरेको छ। देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि सो समितिले छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
संसदीय अध्ययन समितिमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा उमाशङ्कर अरगरिया, पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, लालबहादुर थापा र समीमा हुसैन सदस्य छन्।
समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका सदाको परिवारसँग आज छलफल गरेको थियो।
समितिका सदस्य तथा धनुषाका सांसद समेत रहेका अरगरियाले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा र श्रीमतीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको बताए। टोलीले  आजै नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको थियो।
समितिका पदाधिकारी मङ्गलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताए। बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस्